भरतपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा एकलौटी अघि बढ्न खोजेको आरोप लगाएका छन्।
चितवनको भरतपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले भने,‘सभापतिजीले एकलौटी निर्णय गर्न थाल्नु भएको छ। एकलौटी गरेका निर्णय नसच्चिएसम्म पार्टी एक हुँदैन।’
उनले पुस ११ गते आफूहरुको बहिष्कारकाबीच बहुमतबाट गरिएका सबै निर्णय खारेज हुनु पर्ने बताए। अन्यथा आफूहरु केन्द्रीय समितिका कुनै पनि बैठकमा सहभागी नहुने उनको भनाइ छ। पौडेलले आफू पार्टी सभापति देउवाको कार्यशैलीप्रति सहमत नभएको बताए।
‘मैले सभापतिजीलाई बुझाएको ९ बुँदे प्रस्तावबारे सहमति गर्नु पर्छ। अनिमात्र पार्टी एक हुन्छ,’ उनले भने। पौडेलले पार्टीमा छलफल र सल्लाह गरौँला भन्दाभन्दै सभापतिले एकलौटी गरेको आरोप लगाए।
पौडेलले पार्टीलाई सुदृढ बनाउन नेता कार्यकर्ताले विकल्प खोज्ने बताए। ‘म पार्टीलाई सुधार गर्दै जनताको भरोसाको केन्द्र बनाउने मिशनमा छु। विकल्प कार्यकर्ताले खोज्छन्,’ उनले भने।
पौडल समूहको बहिष्कारकाबीच कांग्रेस केन्द्रीय समिति बैठकले एक वर्ष म्याद थप गर्दै १४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।