Wednesday, January 27, 2021
Home > mophosala > तोकिएकै समयमा १४ औं महाधिवेशन हुनुपर्छः शेखर कोइराला

तोकिएकै समयमा १४ औं महाधिवेशन हुनुपर्छः शेखर कोइराला

काठमान्डाै । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले तोकिएकै समयमा १४ औं महाधिवेशन हुनुपर्ने बताएका छन्।

सभापति शेरबहादुर देउवाले आफू पक्षका केन्द्रीय सदस्य उपस्थित केन्द्रीय समिति बैठकबाट बहुमतका आधारमा गत शुक्रबार ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा महाधिवेशन गर्ने कार्यतालिका प्रकाशित गरेका थिए।

उक्त कार्यतालिका सच्याउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले माग गर्दै आएका छन्। तर कोइरालाले भने तोकिएकै समयमा महाधिवेशन हुनुपर्नेमा जोड दिएका हुन्।

सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा कोइरालाले महाधिवेशन सार्नतिर लाग्न नहुने बताए। २०७८ चैतमा स्थानीय तह निर्वाचन हुने भएकोले ०७७ भित्रै महाधिवेशन गरिसक्नुपर्ने बताए। ‘महाधिवेशन निर्धारित समयमै सकेर स्थानीय तह निर्वाचनको तयारी गर्नुपर्नेछ,’ उनले भने।

उनले गुट, उपगुट झ्याङ्गिन दिन नहुने पनि बताए। महाधिवेशनमा सबै कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ। कोइराला केही वर्षदेखि निरन्तर विभिन्न जिल्ला पुगेर कार्यकर्ता भेट्दै आएका छन्। आउँदो महाधिवेशनमा उनी सभापति उठ्ने चर्चा पनि छ।

Leave a Reply