काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा यतिखेर चहल पहल बढेको छ । राष्ट्रियसभा सदस्य र रिक्त सभामुख पदका लागि हुने निर्वाचन, सत्तारुढ दलले सभामुख पद छाड्न नचाहेमा रिक्त हुने उपसभामुख पदका लागि उम्मेदवार हुन आन्तरिक दौडधुप बाक्लिएको छ ।
यद्यपी उनीहरुलाई दोहो-याउने पक्षमा धेरैजना छैनन् । अधिकांश नेताहरु नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने पक्षमा छन् । पार्टीका महासचिव जितेन्द्र सोनलले भने, ‘राष्ट्रियसभामा दुईटा सीट हामीले पाएका छौं, त्यसमा दुईजनालाई उम्मेदवार बनाउनुपर्ने हुन्छ । कतिपयले पुरानैलाई दोहोर्याउने भनिरहनु भएको छ भने कतिपयले नयाँ अनुहार पठाउनु पर्छ भनिरहनु भएको छ, कसलाई उम्मेदवार बनाउने भन्नेबारे पार्टीले डिसिजन गर्ने हो ।’
राष्ट्रियसभा सदस्यमा पार्टी पाउने दुई सिटमा केशव झा, राजिव झा, अकवाल अहमद, सुरेन्द्र झा, दिनेश साह, विभा ठाकुर, डा.विजय सिंह, विजय गुप्ता, सर्वेन्द्रनाथ शुक्ला, नरसिंह चौधरी, मनोज चौधरी, कृष्णा सिंहलगायतका आकांक्षी छन् । उनीहरुले आ–आफ्नै तरिकाबाट पार्टीमा उम्मेदवारी दर्ज गराईसकेका छन् । तर हालसम्म पार्टीले कुनै निर्णय लिन सकेको छैन ।
माघ ९ गते राष्ट्रियसभा सदस्य पदका लागि चुनाव हुनेछ ।
यता, नेकपा र राजपा नेपालबीच उपसभामुखमा पनि आन्तरिक सहमति भएको छ । सभामुख नेकपाले आफैँ राखेमा अर्को दललाई उपसभामुख दिनुपर्ने हुन्छ । त्यसमा राजपा नेपाललाई उपसभामुख दिने आन्तरिक सहमति भइसकेको राजपा नेपालका नेताहरु बताउँछन् । यद्यपी उपसभामुखको सट्टा नेकपाले प्रदेश २ को सरकारमा पनि हिस्सेदारी खोजेको छ । दुई दलको बीचमा यस विषयमा अन्तिम टुङ्गो लगाउन बाँकी नै छ ।
राजपा नेपालले उपसभामुख पाउने अवस्थामा सो पदका लागि सांसद चन्दा चौधरीलाई उम्मेदवार बनाउने लगभग निश्चित छ । पार्टीका महासचिव समेत रहेकी सांसद चौधरी राजपा नेपालमा महिलामध्ये होनहार सांसद हुन् । उनको विकल्प अरुले दिन नसकेको पार्टी स्रोतले जनाएको छ ।
‘बोल्न सक्ने, लेख्न सक्ने, अरुलाई कन्भिन्स गर्न सक्ने क्षमता भएकी सांसद चौधरी नै उपसभामुख हुने लगभग तय छ,’ पार्टीका एक नेताले भने, ‘हुन त अरु पनि महिलाहरु छन् तर उहाँजतिको योग्य र दक्ष अरु छैनन् । अमृता अग्रहरीको पनि कुरा आइरहेको छ । तर हालसम्म कुरा टुङ्गो लगाएको छैन ।’
पार्टीका प्रवक्ता केशव झा भने राजपा नेपालले उपासभामुख पाउने या नपाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताउँछन् । ‘यस विषयमा नेकपा र राजपा नेपालबीच कुरा हुन बाँकी नै छ, त्यसैले उपसभामुख को बन्ने नबन्ने विषय अहिले पार्टीमा आइसकेको छैन,’ उनले भने ।
उपसभामुखमा राजपा नेपालको पनि दावी रहेको उनले बताए । ‘अब हेरौं सत्तारुढ दलसँग छलफल कसरी अगाडी बढ्छ,’ उनले भने ।
राताेपाटिबाट साभार