काठमाडौं । काँग्रेसको संस्थापन इतर पक्ष पार्टीमा उत्पन्न विवादको मध्यमार्गी निकासका लागि आन्तरिक छलफलमा जुटेको छ ।महाराजगञ्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा सोमबार अपराह्नदेखि इतपक्षका नेताहरुबीच आन्तरिक छलफलमा जारी छ ।
उनीहरुबीचको छलफलमा महाधिवेशन कार्यतालिका चालू बैठकमै पेश सहमति जुटे पनि भ्रातृ संस्था गठनको विषयमा सहमतिको प्रयास असफल हुँदै आएको छ ।
आइतबार दुई पक्षीय वार्ता टोलीबीच सिंहको निवास चाक्सीबारीमा भएको ४ घण्टा लामो छलफलमा पनि सहमति प्रयास असफल भएपछि सोमबार आन्तरिक छलफल गर्नु परेका वार्ता टोलीका सदस्य हृदयराम थानीले बताए ।
उनले भने, ‘वार्ता टोलीबीच छलफल हुन थालेको एक हप्ता बढी भइसक्यो । दुई पक्षीय अडानमा कोही कतै कम्परमाइज गर्ने अवस्था नबन्दा सहमतिले मूर्तरुप लिन सकेन । अब के गर्ने भनेर हामीले आफूपक्षीय नेताहरुसँग वार्ताका क्रममा भएका कुराहरुको विफ्रिङका लागि बैठक गर्नु पर्यो भनेर जोड गरेका हौँ ।’
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरु सिंह, बडू, थानी, डा. रामशरण महत, डा. मिनेन्द्र रिजाल र गगन थापालगायतको सहभागिता रहेको छ ।
उता सभापति देउवाले आफू पक्षीय नेताहरुसँग आन्तरिक छलफल गर्ने तयारी गरेको बुझिएको छ ।
जसले वार्ता टोलीबीच अहिलेसम्म भएको छलफलको आधारमा थप छलफलका लागि वार्ता टोलीलाई खटाउने वा त्यसको जिम्मा देउवा र पौडेलाई सुम्पिने भन्ने निर्णय लिने छ ।
मंसिर २६ गतेदेखि जारी काँग्रेस केन्द्रीय समिति बैठक यी नै विषयमा रुमल्लिदा पुस १० गतेका लागि बोलाइएको छ । दुवै पक्ष १० गतेका बैठक सहज सञ्चालनको वातावरण तय गर्न लागि परेका छन् ।
राताेपाटिबाट साभार