Sunday, January 24, 2021
Home > special_four > उपत्यकाका अधिकांश क्याम्पस प्रमुखले भने–‘राजीनामा गर्छौ स्ववियू चुनाव गराउन सक्दैनौं’

उपत्यकाका अधिकांश क्याम्पस प्रमुखले भने–‘राजीनामा गर्छौ स्ववियू चुनाव गराउन सक्दैनौं’

काठमाडौं । उपत्यकाका अधिकांश क्याम्पस प्रमुखहरुले आफुहरु क्याम्पस प्रमुख र जागिरबाट राजीनामा गर्न तयार भएको तर स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव गराउन नसक्ने बताएका छन् । उपत्यकाका अधिकांश क्यम्पस प्रमुखहरुको यस्तो भनाई आएपछि फागुन १४ गतेका लागि तोकिएको स्ववियु मतदान मिति आउन १० दिनमात्र बाँकी रहदाँ स्ववियु निर्वाचन हुने नहुने अन्योल सिर्जना भएकको छ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनका लागि गठन गरेको स्ववियू निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले मंगलबार उपत्यकाका क्याम्पस प्रमुखहरुसँग गरेको छलफलमा हालको वातावरणमा स्ववियु निर्वाचन गराउन नसक्ने बरु जागिरबाट राजिनामा दिने बताएका हुन् ।

शिक्षाध्यक्ष सुधा त्रिपाठी लगायत त्रिवि पदाधिकारीहरुसँगको छलफलमा अधिकांश क्याम्पस प्रमुखहरुले विद्यार्थीहरु नै चुनावमा जान नचाहेको बताए । विद्यार्थीहरु नै स्ववियू निर्वाचन भाँड्न लागेका कारण तत्काल निर्वाचन हुन नसक्ने क्याम्पस प्रमुखहरुको दाबी छ । छलफलमा विश्वभाषा क्याम्पसका प्रमुख भीमनाथ रेग्मीले कर्मचारी अपहरण हुन थालेको र विद्यार्थीले नै चुनाव नचाहेकोले त्रिविले स्ववियु चुनाव गर्न नहुने बताए । उनले विप्लव नेतृत्वको माओवादीका बिद्यार्थीहरुले विद्यार्थी कल्याण शाखाका प्रमुखलाई अपहरण गरि २ घण्टापछि छोडेको समेत बताए ।

त्यसैगरि पाटन संयुक्त क्याम्पस ललितपुरका क्याम्पस प्रमुख दिपेन्द्र विक्रम सिजापतिले स्ववियु चुनाव गराउने प्रयास गरेर विभिन्न धम्की खेप्नुभन्दा क्याम्पस प्रमुख पद र जागिरबाटै राजिनामा दिनु उचित हुने बताए । उनले विद्यार्थी भिडाएर चुनाव गराउनुको औचित्य नभएको भन्दै बरु आफु राजीनामा दिन र जागिर छोड्न तयार रहेको बताए ।

नेपाल ल क्याम्पसका प्रमुख कर्ण बहादुर थापाले बल्ल बल्ल चारवटा संगठन मात्र दर्ता भएको मुख्य बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघले आन्तरिक विवादका कारण संगठन दर्ता नगराएको अवस्थामा आफुले चुनाव गराउने नसक्ने स्पष्ट पारे । ल क्याम्पसको स्ववियू निर्वाचन समितिले मंगलबार बिहान बैठक बसेर चुनाव गराउन नसकिने निर्णय गरेको समेत छलफलमा जानकारी गराएका थिए ।

अमृत साइन्स क्याम्पसका प्रमुख राजेश मकाजुले क्याम्पसमा निर्वाचन गराउन सक्ने अवस्था नरहेको बताए । उनले चुनाव गरानै पर्छ भन्ने र चुनाव गराउनै हुन्न भन्ने दुवैको दबाब झल्न सक्ने अवस्थामा आफु नरहेको बताए । प्रशासनमा ताला लागेको अवस्थामा कसरी चुनाव गराउने भनि उनले प्रश्न समेत गरे ।

Leave a Reply