नागरिकता संशोधन सम्बन्धी नयाँ कानूनको विरोधमा भारतका पूर्वोत्तर राज्यबाट सुरु भएको आन्दोलन अहिले भारतका अधिकांश क्षेत्रमा फैलिएको छ ।
विशेष गरी राजधानी दिल्लीमा प्रदर्शन बिस्तारित भएका छन् । तर शान्तिपूर्ण प्रदर्शनहरु हिंसामा परिणत भएका छन् ।
मंगलबार दिल्लीको सीलमपुर क्षेत्रमा शान्तिपूर्ण रुपमा प्रदर्शन सुरु भएको थियो र केही समयपछि सो प्रदर्शनले हिंसात्मक रुप लियो । एक हजार भन्दा बढी प्रदर्शनकारी रहेको भिडमा हिंसा भड्कियो । एक स्कूल बसमा तोडफोड तथा प्रहरी चौकीमा आगजानी भएको जनाइएको छ।
प्रदर्शनकारी र प्रहरीबिच झडप भयो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज तथा अश्रु ग्यास प्रहार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्ली प्रहरीले अवस्था नियन्त्रणमा लिएको बताएको छ ।
सीलमपुरमा भएको घटनामा २१ जना घाइते भएको प्रहरीले बताएको छ । घाइते मध्ये १२ जना दिल्ली प्रहरीका र तीनजना ¥यापिड एक्शन फोर्सका सदस्य रहेको जनाइएको छ । पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबिच जामिया मिल्लिया इस्लामिया विश्वविद्यालय र आसपासका क्षेत्रमा गएको आइतबार भएको हिंसात्मक प्रदर्शनलाई लिएर दिल्ली प्रहरीले कांग्रेसका पूर्व विधायक आसिफ खानविरुद्ध आरोप पत्र दायर गरेको छ ।
जामिया क्षेत्रमा भएको हिंसामा संलग्न भएको आरोपमा दिल्ली प्रहरीले मंगलबार कांग्रेसका पूर्व विधायक खानविरुद्ध जाहेरी दर्ता गरेको हो ।
यस्तै दिल्लीको साकेत अदालतले जामिया मिल्लियामा भएको हिंसाको अभियोगमा प्रहरीले पक्राउ गरेका ६ जनालाई १४ दिन न्यायीक हिरासतमा राख्न आदेश दिएको छ ।
देशभर अवस्था बिग्रिँदै गएका बेला विपक्षी पार्टीहरुकी नेतृ कांग्रेस प्रमुख सोनिया गान्धीसहितको टोलीले राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गरेको छ ।
कांग्रेस प्रमुख गान्धीले राष्ट्रपतिसँग नरेन्द्र मोदी सरकारप्रति गुनासो गरिन् । सरकारले शान्तिपूर्ण प्रदर्शनलाई कुल्चिने प्रयास गरेको उनले बताएकी छन् । लोकतन्त्रमा जनताको आवाज दबाउन नसकिने उनले बताइन् ।
तर केन्द्रीय गृह मन्त्री अमित शाहले भने विपक्षीले जति विरोध गरे पनि नयाँ नागरिकता कानून लागु गरेर छोड्ने बताएका छन् ।
यसअघि प्रधानमन्त्री मोदीले भइरहेको विरोध प्रदर्शनमा कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका थिए । नागरिकता संशोधन कानून (सिएए) तथा नेशनल रजिस्टर अफ सितिजन्स (एनआरसी) को विरोधमा प्रदर्शन हुँदै आएको हो ।