Tuesday, January 19, 2021
Home > mophosala > स्थायी कमिटी बैठकमा घनश्याम भुसालको लिखित प्रस्तावः उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं

स्थायी कमिटी बैठकमा घनश्याम भुसालको लिखित प्रस्तावः उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं

नेकपा स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा एक सातासम्मको कार्यशाला आयोजना गर्न माग गरेका छन्।

स्थायी कमिटीको जारी बैठकमा आफ्नो लिखित प्रस्ताव राख्दै भुसालले केन्द्रीय बैठकअघि स्थायी कमिटीका सबै पदाधिकारी र सदस्यकाबीचमा कार्यशाला आयोजना गर्न माग गरेका हुन्।

आजको पार्टी वा कम्युनिष्ट पार्टीको आजको कार्यभार वा यस्तै खालका अन्य उपयुक्त शिर्षकमा ५ देखि ७ दिनको कार्यशाला राख्नुपर्ने उनको सुझाव छ।

प्रस्तावमा भुसालले भनेका छन् ‘उही काम दोहोर्‍याएर फरक परिणामको आशा गर्नु बुद्धिमानी हुँदैन भनिएझैं आजकै वैचारिक र साङ्गठानिक अस्पष्टता गुटबन्दी र विधिहीनता बोकेर कार्यकर्ताको परिचालन र अधिवेशन गर्दा फरक परिणाम नअउने कुरा स्पष्ट छ।’

आफ्नो लिखित धारणा राख्दै कृषि मन्त्री समेत रहेका भुसालले निर्वाचन जित्नु र बहुमतको सरकार चलाउनु मात्रै उपलब्धी ठानेको जस्तो देखिएको बताएका छन् ।

‘यी दुई वर्षलाई हेर्दा निर्वाचन जित्नु र बहुमतको सरकार बनाउनु नै ठूलो कुरा हो, सबै समस्याको समाधान हो भन्ने कोणबाट हामीले जनतालाई प्रशिक्षित गर्दैछौ भन्ने देखिन्छ’ चार पृष्ठ लामो लिखित प्रस्तावमा भुसालले भनेका छन् ‘कमरेडहरु, खासगरी नेतृत्वका कमरेडहरु, उत्तेजनाहीन र आग्रहहीन भएर धर्ती टेकौं।’

हरेक क्रान्तिपछि वास्तविक अनुहार देखिने भन्दै भुसालले क्रान्ति गर्नु भन्दा पनि क्रान्तिलाई जोगाउनु महत्वपूर्ण रहेको धारणा राखेका छन्।

‘क्रान्तिकारी हुनुभन्दा क्रान्तिकारी भैरहनु धेरै गाह्रो हुन्छ, क्रान्तिबाट आएको हाम्रो पिँढीले अझ बढी त्याग गर्न आफू तयार भएको र त्यसका लागि तयार रहन आम जनतालाई आह्वान गर्नु पर्थ्यौ’ भुसालले भनेका छन्, ‘क्रान्तिले इतिहासका सबै गल्तीको हिसाब किताब चुक्ता गरिहाल्दैन बरु खाता मात्रै खोल्छ।’

अहिलेको पुँजीवादको खास चरित्र दलाल पुँजीवादी रहेको दोहोर्‍याउँदै भुसालले दलाल पुँजीवादले आफूअनुकुलका पार्टी, नेता, मन्त्री, सांसद, बौद्धिक, पत्रकार कर्मचारी र सामाजिक अभियानकर्ताहरु जन्माउने उल्लेख गरेका छन्।

आजको कम्युनिष्ट पार्टीले पनि राष्ट्रिय पुँजी र समाजवादको राजनीति, अर्थतन्त्र र संस्कृतिको पुनरुत्पादन गर्नु पर्नेमा उनले जोड दिएका छन्। याे उत्पादन गरेर मात्रै क्रान्तिले जित्ने भन्दै उनले यस्तो गर्न नसकेमा दलाल पुँजीवादले कम्युनिष्ट पार्टी स्वयमलाई निलिदिने चेतावनी समेत दिएका छन्।

आजको स्थायी कमिटी बैठकमा भुसालका साथै सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, जनार्दन शर्मा, शंकर पोखरेल, अमृत बोहरा, मणि थापा लगायत १३ जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए। स्थायी समिति सदस्य थापाले पार्टीको सुदृढीकरणका लागि सांस्कृतिक रुपान्तरण जरुरी रहेको धारणा राखेका थिए।

‘दुई पार्टीको एकता सिद्धान्तका आधारमा भन्दा पनि चुनाव जित्नका लागि मात्रै भएको जस्तो देखिएको छ।’आफूले बैठकमा राखेको धारणाबारे जानकारी गराउँदै थापाले भने, ‘एमाले र माओवादी केन्द्र एकता भएर नेकपा बने पनि यो पार्टी संयुक्त मोर्चा जस्तो देखिएको छ, त्यसैले पूर्ण एकताका लागि महाधिवेशनमा जानुपर्छ।’

सेताेपाटिबाट

Leave a Reply