काठमान्डाै । सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय सुनिश्चित भएको छ। ५३ हजार पाँच सय १७ गन्दा तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले अगाडि छन्।
तिलकले २५ हजार ९ सय ९५ मत पाएका छन् भने प्रकाशले २३ हजार ३ सय ९३ मत ल्याएका छन्। ‘धरानमा वडा नम्बर ७ को मत गणना जारी छ।
अहिलेको मतपरिणामका आधारमा हाम्रो ऐतिहासिक जित सुनिश्चित भएको छ,’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने। सात नम्बर वडामा १३ सय मत खसेको छ।
तिलकको जितसँगै नेपाली कांग्रेसले बहुदल आएको २९ वर्षमा पहिलो पटक धरान उपमहानगरको नेतृत्व पाउने छन्। २८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। २०४८ सालको आमनिर्वाचन जित सुनिश्चित गर्न एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी यही क्षेत्रबाट उम्मेदवार बनेका थिए।
दुई वर्षअघि भएको चुनावमा धरानमा तत्कालीन नेकपा एमालेका नेता तारा सुब्बा चार हजार मतान्तरले विजयी भएका थिए। त्यतिबेला पनि कांग्रेसबाट तिलक राई नै उम्मेदवार बनेका थिए।
धरानमा दुई वर्षअघिको स्थानीय चुनावमा कांग्रेसले २० मध्ये ५ वडामात्र जितेको थियो। कांग्रेसले १४, ५, २, १ र १८ वडामात्र जितेको थियो। पूर्वमाओवादीले १७ नम्बर वडामा जित हात पारेको थियो भने बाँकी १४ वटा वडा सबै पूर्वएमालेले जितेको थियो।
साेताेपाटिबाट साभार