Monday, January 25, 2021
Home > mophosala > सागमा नेपालको २३ वर्षपछिको खराब नतिजा (श्रृंखला- ५)

सागमा नेपालको २३ वर्षपछिको खराब नतिजा (श्रृंखला- ५)

१२औं दक्षिण एसियाली खेलकुद (साग) अक्टोबर २०१२ मा दिल्लीमा आयोजना हुने तय भएको थियो। तर भारतीय ओलम्पिक कमिटीले फेब्रुअरी २०१३ मा साग गर्ने प्रस्ताव गर्‍यो।

२०१२ को लन्डन ओलम्पिकलगत्तै साग गर्दा आयोजना गर्दा आर्थिक भार पर्ने दिल्ली सरकारले बताएपछि खेल २०१३ का लागि सारिएको थियो।

यहि बीचमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले राजनीतिक हस्तक्षेप भएको भन्दै भारतीय ओलम्पिक कमिटीलाई प्रतिबन्ध लगायो। जसका कारण साग नै स्थगित भयो। सन् २०१४ मा भारतलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले प्रतिबन्ध फुकुवा गर्‍यो।

सन् २०१५ भारतीय ओलम्पिक कमिटी र खेलकुद मन्त्रायलले सन् २०१५ को नोभेम्बरको अन्त्यमा गुवाहाटी र सिलोङमा १२औं साग गर्ने निर्णय गरेको थियो। तर फेरि साग २०१६ को फेब्रुअरीका लागि सारियो।

प्रत्येक २-२ वर्षको अन्तरालमा आयोजना हुनु पर्ने सागको १२औं संस्करण ६ वर्ष धकेलिएको थियो। ३२ वर्षको अवधिमा १२ संस्करण मात्र आयोजना हुन सक्यो।

यो सागमा कराते सहभागी नगराइदा नेपाललाई ठूलो घाटा परेको थियो। सन् १९९९ मा नेपालमा भएको आठौं संस्करणपछि पहिलो पटक सागमा करातेलाई समावेश गरिएको थिएन।

चार संस्करणमा करातेले २० स्वर्ण जितिसकेको थियो। कराते समावेश नहुँदा ६ वर्षदेखि तयारी गरिरहेका नेपाली खेलाडी निराश बनेका थिए। कतिपय खेलाडी पलायन समेत भए।

२३ खेलमा प्रतिस्पर्धा भएको १२औं सागमा आयोजक भारतले एक छात्र राज गर्‍यो। १८८ स्वर्ण जितेको भारतले इतिहासकै बढी पदक जित्यो। दोस्रो भएको श्रीलंकाले २५ स्वर्ण जितेको थियो। पाकिस्तान १२ स्वर्ण जित्दै तेस्रो र अफगानिस्तान ७ स्वर्ण जितेर चौथो भयो।

अफगानिस्तानले यो सागमा अन्तिम प्रतिस्पर्धाको रुपमा भाग लिएको थियो। साग छाडेर अफगानिस्तानले मध्य एसियाको प्रतियोगितामा भाग लिने बताएको थियो। यद्यपी अफगानिस्तानले १३औं सागमा पनि सहभागिता हुन इच्छा देखायो। तर नेपाल ‌ओलम्पिक कमिटीले मार्सल आर्ट बाहेकका खेलमा मात्र सहभागी हुन दिने बताएपछि आगामी मंसिर १५ देखि हुने साग अफगानिस्तान सहभागी छैन।

१२औं सागमा नेपालले ३ स्वर्ण जित्न सक्यो। नेपालले थप २३ रजत र ३३ कास्य हात पारेको थियो। उसुकी निमा घर्तिमगर र जुडोकी फुपुल्यामु खत्रीले स्वर्ण जिताएका थिए। १६ वर्षे निमाले नेपालका लागि पहिलो स्वर्ण दिलाएकी थिइन्।

नेपालले २१ वर्षपछि सागमा जुडोबाट स्वर्ण जितेको थियो। सन् १९९५ को सातौं सागदेखि नेपालले जुडोबाट स्वर्ण जित्न सकेको थिएन। नेपालका लागि ऐतिहासिक स्वर्ण जिताएकी फुपु हाल प्रतिबन्धमा छिन्। टोकियो ओलम्पिकको प्रशिक्षणका लागि जापान रहेको बेला उनी खबर नै नगरी नेपाल फर्किएको जुडो संघले आरोप लगायो। जससँगै संघले २ वर्षका लागि प्रतिबन्ध लगायो। प्रतिबन्धका कारण फुपु १३औं सागका सहभागी छैनन्।

यस्तै नेपालले फुटबलमा घरेलु टिम भारतलाई २-१ गोलले पराजित गर्दै २३ वर्षपछि स्वर्ण जितेको थियो। तेस्रो पटक साग फुटबलमा स्वर्ण जितेको नेपालले अन्तिम दिन भएको फाइनल खेलमा सनसनीपूर्ण जित हात पारेको थियो। त्यसअघि नेपालले साग फुटबलमा सन् १९८४ र १९९३ मा स्वर्ण जितेको थियो।

३ वटा मात्र स्वर्ण हात पारेको साग नेपालका लागि २३ वर्षकै खराब सागका रुपमा परिणत भएको थियो। नेपालले सन् १९९५ को मद्रास सागपछि कम स्वर्ण जितेको थियो। सन् १९९५ मा नेपालले ४ स्वर्ण जितेको थियो। त्यसअघि सन् १९९३ को ढाका सागमा नेपालले १ एक स्वर्ण जितेको थियो।

सन् १९९९ पछि तेक्वान्दोबाट नेपाल पहिलो पटक स्वर्ण बिहीन बन्न परेको थियो। तेक्वान्दोका ७ खेलाडी फाइनल पुगेर पनि पराजित भएका थिए।

१२औं सागमा नेपालका लागि महिला खेलाडीले बढी पदक जिते। नेपालले जितेको कुल ६० पदकमा महिलाको नाममा ३७ पदक रह्यो। नेपालले जितेका तीन मध्ये २ स्वर्ण जित्ने खेलाडी महिला थिए।
यस्तै नेपालले रजत र कास्य पनि महिला नै अघि रहे। महिला खेलाडीले १५ रजत र २० कास्य जितेका थिए। पुरुषले ८ रजत र १४ कास्य पदक हात पारेका थिए।

उसुको १२ पदक मध्ये ५ रजत र १ स्वर्ण महिलाले जिते। जुडोमा पनि महिलाकै प्रदर्शन अब्बल रह्यो। जुडोकी फुपुले स्वर्ण जित्दा २ रजत र ३ कास्य महिला खेलाडीले हात पारे। जुडोबाट नेपालले ९ पदक जितेको थियो।

तेक्वान्दोका ७ रजत मध्ये ५ रजत जित्ने महिला खेलाडी थिए। यस्तै पौडीमा नेपालले जितेका चार पदक नै गौरिका सिंहको नाममा रह्यो। उनले १ रजत र ३ कास्य जितेकी थिइन्। महिला फुटबल टिम र ट्रायथलनकी रोजा केसीले रजत जिते। महिलाका खोखो, भलिबल, स्क्वास, ब्याडमिन्टन र कबड्डी टिमले कास्य पदक हात पारे।

सेताेपाटिबाट

Leave a Reply