वैतडी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री एन पी साउँदले मंसीर १४ गते हुने उपनिर्वाचन नेपाल र नेपाली कांग्रेसको लागि मिनि जनमत संग्रह भएको बताएका छन् ।
वैतडीको सुर्नया गाउँपालिका वडा नं १ हटैराजमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्दै पूर्व मन्त्री तथा कांग्रेसका प्रभावसालि नेता साउँदले अहिलेको नेकपा सरकार अधिनायकवादी बाटोमा हिँडेको खुलासा गरेका थिए ।
उप निर्वाचनले सरकारको समीकरणमा केही फरक नपरे पनि लोकतन्त्र र अधिनायकवाद कसलाई रोज्ने जनताको हातमा भएको बताउनुभयो । वर्तमान दुई तिहाईको सरकारले देशमा भ्रष्टाचार रोक्न नसकेको आरोप लगाउँदै नेता साउँदले वर्तमान सरकार राष्ट्रियताका पक्षमा चुकेको बताउनुभयो । सत्ताबाहिर हुँदा भारतको विरोध गर्नेहरु सरकारमा पुगेपछि चुप लागेको बताउनुभयो ।
अहिलेको लडाँई लोकतन्त्र र अधिनायकवादीहरुको बीचमा भएकाले जनताले कसलाई रोज्ने जनताकै हातमा भएको उहाँको दाबी छ । सरकारका पछिल्ला गतिविधि लोकतन्त्र निस्तेज पार्ने खालका भएकाले यसमा जनता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा पूर्वराज्य मन्त्री गोविन्द शाह, नेपाली कांग्रेसका कञ्चनपुरका पूर्व सभापति बहादुरसिंह थापा लगायतको सहभागिता रहेको थियो । उपनिर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेसले केन्द्रिय नेताहरुको सहभागितामा आमसभा गर्दै आएको छ ।