हेटौडा कार्तिक २५-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीकै वरिष्ठ नेतादेखि महामन्त्री र केन्द्रीय नेताहरुलाई नै प्रशिक्षणको नपुगेको भनि सार्वजनिक कार्यक्रममा आक्रोस व्यक्त गरेका छन्।
तीन नम्बर प्रदेशका नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, सिन्धुली लगायतका जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार हेटौंडामा आयोजना गरेको कार्यक्रममा बोल्न पुगको सभापति देउवाले सुरुमै पार्टी नेताहरुको अभिव्यक्तिप्रति चर्को असन्तुष्टि व्यक्त गरे।
उनीभन्दा अगाडी बोल्ने वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले ‘माओवादी जनयुद्ध’ ‘कम्युनिष्टको दुई तिहाईको सरकार’ भनि दिएको अभिव्यक्तिबाट आक्रोसित बनेका सभापति देउवाले सुरुमै भने, ‘नेताहरुलाई नै अझै प्रशिक्षण पुगेको छैन।’
माओवादीले चलाएको हिंसात्मक राजनीतिलाई ‘द्धन्द्ध’ भन्दै उनले भने, ‘हाम्रै नेताहरु जनयुद्ध भन्छन्। जनयुद्ध हो भने हाम्रा मान्छे मारेको ठीक भन्ने हो? त्यो युद्धमा जनताको संलग्नता कहाँ थियो ? हद भयो नि। यदि त्यो जनयुद्ध थियो भने त हाम्रो पार्टीका मान्छे, पुलिस, सेना मारेको पनि ठिक भन्नु पर्यो नि। त्यो द्धन्द्ध हो। अझै प्रशिक्षण पुगेको छैन।’
सरकारको विषयमा पौडेल र कोइरालाले दुई तिहाई बहुमतको दम्भका आधारमा सबै क्षेत्रमाथि अतिक्रमण भएको भन्ने विषयमा पनि देउवाले कम्युनिष्ट पार्टीको सरकारमा दुई तिहाई नभएको र प्रधानमन्त्री ओलीले पनि त्यो दाबी गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुले दुई तिहाई कि दुई तिहाई भनेर बढाई चढाई गरेको आरोप लगाए।
राजनीतिमा प्रशिक्षण जरुरी रहेको भन्दै उनले अब भाषणमा भन्दा चुनाव कसरी जित्ने भन्ने कुरामा ध्यान दिन उनले सुझाव दिए।
विश्वका अधिकांश तानाशाहहरु चुनाव जितेरै आएको बताउँदै अहिलको कम्युनिष्ट नेतृत्वको सरकारले अख्तियार दुरुपयोग आयोगलाई शाही आयोगमा परिणत गर्न खोजिरहेको आरोप लगाए।
उनले नेपालको प्रजातन्त्र रक्षाका लागि फेरी पनि कांग्रेसले धेरै ठूलो लडाइ लड्न पर्ने अवस्था आएको भन्दै कार्यकर्ता र जनतालाई प्रजातन्त्रको पक्षमा अडिग भएर तयारी अवस्थामा बस्न आग्रह पनि गरे।
भारतले हालै प्रकाशित गरेको नक्सामा कालापानी र लिपुलेक लगायतको क्षेत्र आफ्नो भनेको विषयमा देउवाले भने, ‘कालापानी नेपालको हो। लिपुलेक ट्राइजंक्सन हो। भारतको मात्र होइन। दक्षिणतर्फ नेपालको हो पश्चिमको भारत र उत्तरको चीन हो। यो दंगाफसादबाट समस्या समाधान हुँदैन। वार्ताद्धारा हाम्रो हक स्थापित गर्नु पर्छ।’
सरकारका प्रधानमन्त्रीले रेल र पानीजहाजको कुरा गरेर जनतालाई भ्रमित पारेको भन्दै विदेशीको पैसाले रेल बनाए बनाउँछन् तर, नेपाल र नेपालीको आवश्यकता सडक भएको बताए।
पार्टीभित्र एकता हुनु पर्नेमा जोड दिँदै पार्टीले चुनाव जित्नै पर्ने अवस्था रहेको भन्दै उनले कुनै पनि बहानामा प्रजातन्त्र खोस्न दिनु नहुने र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्न नपाइने बताए।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले सिद्धान्तको ठेगान नभएका कम्युनिष्टबाट देश र जनताको हित नहुने दाबी गरे।