काठमाडौँ। पूर्व उपप्रधानमन्त्री एवं राप्रपा अध्यक्ष कमल थापा चीनको सेञ्जेन शहरमा टेनिस खेल्दा खेल्दै घाइते भएका छन्। खेलिरहेकै बेला शरीरमा समस्या देखिएपछि थापाले वीचैमा खेल छाडेका छन्।
राप्रपा अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी मानिन्छन्। चीनको सेञ्जेनमा आयोजित आईटीएफ सेञ्जेन इन्टरनेशनल सिनियर सर्किट(२०१९ मा भाग लिन कात्तिक ८ गते त्यहाँ पुगेका थापाले पहिलो खेलमा चीनका ओउ सिहाङलाई ६—० र ६—० मा पराजित गरेका थिए।
थापाले नेपाल भ्रमण वर्ष २०२० लेखिएको जर्सी लगाएर खेलेका थिए। पहिलो खेलमा जीत हात पारेका थापाले अर्को खेलमा भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा ३—० ले जितेका थिए। तर, दोस्रो सेटमा जितिरहेको अवस्थामा थापाको मांसपेशीमा समस्या देखिएको थियो। घाइते भएपछि वीचैमा उनले खेल छाडेको राप्रपाका सहमहामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
थापाको पिँडुला र तिघ्राको मांसपेशीमा एकैसाथ गम्भीर समस्या भएकाले जितिरहेको खेल बीचैमा छाड्नु परेको बर्तौलाले बताए। पिँडुलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि खेल छाडिदिएको उनले बताए। श्रीमती प्रलिता थापासहित चीन गएका थापा कात्तिक १४ गते स्वदेश र्फकने कार्यक्रम छ।