काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति चयनका मतदान जारी रहेको उपाध्यक्षका उम्मेदार नरेन्द्र भाटले जानकारी दिएका छन्। उच्च सुरक्षाबीच काठमाडौंको हायात होटलमा आज बिहीबार बिहान साढे १० बजेदेखि मतदान सुरु भएको थियो।
बुधबार साँझ ८ बजे एकजना मतदाताले भोट हालेपछि भोटिङ मेसिनले काम नगरेको भन्दै स्थगित गरिएको थियो। एनआरएनएको नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बुधबार ४१ पदका लागि ७५ जनाले मनोनयन दर्ता गराएका हुन् ।
कुमार पन्त र कुल आचार्यको अध्यक्ष पदमा उम्मेदवारी परेको छ । त्यस्तै चार जना उपाध्यक्षका लागि नौजनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा हिक्मतबहादुर थापा, किरणविक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र केशव पौडेलको उम्मेदवारी परेको छ।