जापान । जापानका नागरिक ६० वर्ष यताकै शक्तिशाली आँधी हगिविससँग जुधिरहेका छन्। धेरै स्थानमा अहिले बचाउ तथा सफाई अभियान सञ्चालन भइरहेका छन्। हालसम्म आँधीमा मृत्यु हुनेको संख्या ३७ पुगेको जापानी ब्रोडकाष्टिङ संस्था एनएचकेले जनाएको छ।
त्यस्तै १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ घाइते भएका छन्। देशको मौसम विज्ञान शाखाका अनुसार धेरै ठाँउमा वार्षिक वर्षाको ४० प्रतिशत एक वा दुई दिनमै परेको थियो।
जापानको भूमि तथा यातायात मन्त्रालयले २१ जलमार्गका तटबन्ध भत्किएको जानकारी दिएको छ। कैयन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन्। ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ।
जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रम युद्ध स्तरमा सञ्चालन गरिएको छ। प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ। अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ। एजेन्सी