Sunday, January 24, 2021
Home > special_one > कात्तिक १३ गतेदेखि अनशन बस्ने गोविन्द केसीको चेतावनी

कात्तिक १३ गतेदेखि अनशन बस्ने गोविन्द केसीको चेतावनी

काठमाडौं। डाक्टर गोविन्द केसीले कात्तिक १३ गतेदेखि फेरि अनशन सुरु गर्ने चेतावनी दिएका छन्। डा. केसीले सोमबार पत्रकार सम्मेलनमा विभिन्न ६ वटा माग राख्दै आफ्ना माग पुरा नभए अनशन सुरु गर्ने बताएका हुन्।

आजदेखि २६ वर्षे सेवाबाट अवकाश हुन लागेका केसीले आफू शिक्षण अस्पतालबाट अवकास लिए पनि जुनसुकै ठाउँमा गएर अनशन बस्न सक्ने बताएका छन्।

केसीका द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा पार्टी कार्यकर्तालाई भर्ती नगराउने लगायतका ६ बुँदे माग छन्।

यस्ता छन् केसीका माग

१। हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस्।

२। विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस्।

३। आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरियोस्।

४। संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस्।

५। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर MBBS कार्यक्रम संचालन गरियोस्।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृति दिँदै शीघ्र MBBS कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस्। प्रदेश नं दुई र चार तथा डोटी र डडेल्धुरा, उदयपुर र इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि गरियोस्।

६। संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस्।

Leave a Reply