Monday, January 18, 2021
Home > special_two > मरिच आफ्नै रिसले चाम्रिएको हुन्छ रे, कांग्रेसीहरु आफ्नै रिसले खुम्चिएका, खुइलिएका छन:-ओली

मरिच आफ्नै रिसले चाम्रिएको हुन्छ रे, कांग्रेसीहरु आफ्नै रिसले खुम्चिएका, खुइलिएका छन:-ओली

                                                                                                                              तारा प्रसाद ओली

कांग्रेसीहरु पार्टीभित्र लड्न, भिड्न खप्पिस छन्, विपक्षी देखेपछि पुच्छर लुकाएर भाग्ने र आफ्नै पार्टीका सहयात्रीलाई पेल्न, ठेल्न, गोद्न माहिर छन् कांग्रेसीहरु ।

पार्टी भित्र नेतृत्व हत्याउन र गुटको अस्तित्व रक्षाको लागि ज्यानको बाजि थापेर साम, दाम अपनाउनेहरु अरु पार्टी संग प्रतिस्पर्धा गर्नुपर्यो भने फिक्का हुन्छन्, न योजना, न रणनीति । न अवसर बाड्छन, न पीडा नै । न अपनत्व छ, न स्वामित्व, न विचार छ, न तर्क । अध्यारोमा ढुंगा हान्दा परिणाम कसरी आओस, हात लाग्यो शुन्य, हात्ती आयो, हात्ती आयो फुस्सा ।
मरिच आफ्नै रिसले चाम्रिएको हुन्छ रे, कांग्रेसीहरु आफ्नै रिसले खुम्चिएका छन्, आफ्नै कारणले खुइलिएका छन् । कुनै बेला दुई तिहाइवाला कांग्रेसको यो हविगत त्यत्तिकै किन हुन्थ्यो र ? कार्यकर्ता र नेता बिच कुनै attachment छैन, कार्यकर्ता र जनताबीच कुनै connection छैन । सबै आफ्नै ताल र आफ्नै सुरमा छन् । घर लथालिङ्ग छ, भताभुङ्ग छ, नेताहरु जनजागरण अभियानमा देश दौडाहामा छन्, लाजको पसारो ।

पहिले नेता जागरण अभियान चलाउनु पर्यो, अनि कार्यकर्ता जागरण अभियान चलाउनुपर्यो, तब न जनतालाइ जगाउने हो । कांग्रेसको नर्सरी नेबिसंघ नेतृत्व विहीन छ भने ४ सदस्यीय तरुण दलमा समेत गाइजात्रा शुरु भएछ । दुई होनहार युवा नेताहरु जितजंग बस्नेत र भुपेन्द्रजंग शाही कुस्ती खेल्न थालेछन । यी दुवै मेरा प्रिय नेता, म नेविसंघको राजनीतिमा रहदा मैले मन पराउने नेताहरु । आजको यो भाडभैलौ देखेर मन अमिलो भयो, साह्रै दुख लाग्यो । .. लाई भन्दा देख्नेलाई लाज भनेजस्तो भयो । आफ्नै घरमा आगो लगाएर खरानीको थुप्रोमा लडिबुडी खेल्नुको के अर्थ ? आगो ताप्नुको के अर्थ ? कार्यकर्ताको टाउकोमा अनुशासनको तरबार झुन्ड्याइ दिएर मात्र संगठन चल्दैन, बन्दैन । यी दुई युवा नेताले लोक हसाउनु शोभनीय भएन है ।

व्यक्तिले होइन विचारले, विधिले चलाउने न हो संगठन । यो भाले भिडन्तले देश भरका कांग्रेसजनहरुलाई स्तब्ध तुल्याएको छ । धान खाने मुसो, चोट पाउने भ्यागुतो नहोस, नेताहरुले गरेका अपराध कर्मको पापको भारी कार्यकर्ताको बोक्नुपर्ने, यसको मुल्य देश र जनताले चुकाउनु पर्ने भयो । पटकपटक अवसर दिदा पनि जनतालाई माछाे माछो भ्यागुतो बनाएको कारण यसपटकको चुनावमा जनताले गतिलो झापड दिएको विर्सनु भएन । तरुण दल भित्रको समस्या पार्टी नेताहरुले यथाशीघ्र समाधान गर्न सकुन्, शुभकामना ।

लेखक  ओली नेबि संघ रुकुमका पुर्ब जिल्ला अध्यक्ष हुन

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply