Saturday, January 23, 2021
Home > mophosala > भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनमार्फत् नियमित रूपमा डिजल

भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म पाइपलाइनमार्फत् नियमित रूपमा डिजल

अमलेखगन्ज । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट एकै पटक स्वीच थिचेर पेट्रोलियम पाइपलाइनको उद्घाटन गरेसँगै डिजल आपूर्ति हुन थालेको हो।

पाइपलाइनबाट केही समयपछि पेट्रोल पनि आउने छ। पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि ढुवानीमा नेपाल आयल निगमको वार्षिक १ अर्ब १७ करोड रुपैयाँ जोगिने निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।

मोतिहारीबाट अमलेखगन्जसम्मको साढे ६९ किलोमिटरको ढुवानी खर्च जोगिने भएको हो। सो दुरीमा नेपालतर्फ ३७. २५ किलोमिटर पर्दछ भने भारततर्फ ३२. २५ किलोमिटर पर्दछ।

हालको मागमा ५० प्रतिशत डिजल पाइपलाइनमार्फत आपूर्ति हुने उनले बताए। बाँकी ५० प्रतिशत डिजल भने ट्याङ्करबाटै आपूर्ति हुनेछ। दैनिक औसत ६ हजार किलोलिटर डिजल आपूर्ति हुने गरेकोमा अब ३ हजार किलोलिटर पाइपलाइनबाट आउने छ।

पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुँदा दैनिक ७ हजार किलोलिटरसम्म तेल आउन सक्नेछ।‘हालको आपूर्तिलाई क्रमिक रूपमा बढाएर डिजेलमा कुल मागको ७२ प्रतिशतसम्म पाइपलाइनबाटै आपूर्ति गर्ने लक्ष्य लिएका छौँ’ भट्टराईले भने।

उनका अनुसार भण्डारणको क्षमता विस्तार भएपछि पूर्ण क्षमतामा पाइपलाइन सञ्चालन हुनेछ। हाल अमलेखगञ्ज डिपोमा भण्डारणका लागि ४ वटा ट्याङ्की छन्। ४१ सय किलोलिटर क्षमताका २ र ३९ सय किलोलिटर क्षमताका २ ट्याङ्की छन्।

पाइपलाइनबाट आएको तेल काठमाडौं उपत्यका र पोखराका लागि पठाउने निगमले जनाएको छ। मंगलबारदेखि नै पाइपलाइनबाट आएको तेल वितरण सुरू हुने निगमले जनाएको छ।

आगामी एक वर्षसम्म पाइपलाइनको मर्मत सम्भारको जिम्मा भारतले नै लिएको छ। भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक जेपी सिन्हाले यो पाइपलाइन दक्षिण एसियामै पहिलो अन्तरदेशीय पाइपलाइन भएको दाबी गरे।

यसले नेपाल र भारतको सम्बन्ध मजबुत छ भन्ने कुराको पुष्टि भएको उनले बताए। उनले एक वर्षसम्म पाइपलाइनको मर्मत सम्भार पनि भारतले नै गरिदिने वाचा गरे।

 

Leave a Reply