Saturday, January 23, 2021
Home > mophosala > नेपालको राजिनिती व्यवस्था परिवर्तनतर्फ अग्रसर छ ; मोति चाम्लिङ

नेपालको राजिनिती व्यवस्था परिवर्तनतर्फ अग्रसर छ ; मोति चाम्लिङ

गन्जागोल स्थितिमा अनेक तमासासंगै गुज्रीरहेको नेपालको राजनिती बस्तुस्थितीलाई सावधानिपूर्वक विश्लेषण गर्दा यतिबेला ब्यवस्था परिवर्तनसम्मको प्रश्न उठ्ने गरेको छ। यस सन्दर्भमा नेपालका राजनिती बिश्लेषक तथा चिन्तकहरुले निरपेक्ष ढंगबाट आफ्ना बिचार प्रवाह गर्ने भन्दा पनि कहिं न कहिं, कतै न कतै पक्षमा रहि प्रभावित मनोदशामा उभिएर प्रस्तुत भैरहेका छन् भन्ने आरोप करिव सत्यको नजिक देखिन्छ। ब्यक्तिको बिचार मन्थन एउटा दृष्टिकोण अगाडि उपस्थित हुनु स्वभाविक हो र कुनै दुई पक्षका पाटोहरुमा कुनै एक पाटो बिचार मन्थनमा हावी हुनु पनि अति स्वभाविकै हो।
मुलुकमा आएको परिवर्तनले तीन करोड अधिक जनसंख्या भएको नेपालमा बिबिध खाले माथापच्चीहरु पेचिलो बनेर गयो। अस्तित्वमा रहेका बिभक्त आस्थाहरुले कुनै पनि साझा मुद्दालाई यकिन गरेर स्थापित गर्न गराउन सबै असफल भएकै हुन्। यति हुँदा हुँदै पनि सर्बत्र चासोको बिषय लुटको धन्दा या भ्रष्टाचारको मुद्दामा अधिकांशका स्विकारोक्तिमा एउटै धरातलमा रहेर आफ्ना असन्तुष्टिहरु छरपष्ट हुन पुगेको चाहिं कमसेकम पनि सत्य हो। स्याना भ्रष्टाचारका कनिका बटुल्ने काम भन्दा नेतृत्वका उच्च पदस्थहरुको संसयकारी संस्थागत भ्रष्टाचार डरलाग्दो र जटिल समस्याको रुपमा पहिचान भएको छ। राष्ट्रकोषबाट चुंडाएर लिने तथा राष्ट्रिय ढुकुटिमा निकै ठूलो प्वाल पारेर ह्वारह्वार्ती कुम्लो भर्दै लुकाउने गैरजिम्मेवार र दण्डनिय दुश्कर्ममा लाग्नेहरु प्राय हाइ प्रोफाइल कार्यकारीहरु नै भएको तथ्य प्रमाणित हुँदै गएको छ। पहिले पहिले थुन्चेले छोपेर यस्ता राजद्रोहि उपद्रव गर्ने परिपाटी अहिले आएर डोकाले नै छोपेर गर्ने पाइएको स्पष्ट भैसकेको छ। बिगतमा सुचना प्रविधिको कम्जोर अवस्थाले भ्रष्टाचारिहरु निकै हदसम्म सुरक्षित हुने गर्दथे किन्तु बर्तमानमा हाइ टेक्नोलोजी र अत्यन्तै सुलभ सुचना प्रविधिले गर्दा भ्रष्टाचारिहरुको अनुहार चिन्न सजिलो भएको छ। अनुहारमा अनेक छदम रंग दलेर, दुनियादारी भेष बदलेर गरिएका भ्रष्टाचारहरुमा संलग्न ब्यक्ती को को हुन् र छन् भन्ने सत्य पत्ता लगाउन अत्यन्तै सरल काम भएको छ। मुलुकको बिकाश कसरी गर्ने भन्ने चिन्ता भन्दा राष्ट्रकोष लुट्नेहरुलाई के गरिकन नियन्त्रण गर्ने भन्ने प्रमुख समस्याको रुपमा आइलागेको छ। देशै भ्रष्टाचारिहरुको कब्जामा पुगेपछी यहाँ सिधासादा नागरिकहरुले बांचिखान कठिन भन्दा कठिन बन्दै गएको छ। जनताले यस्ता कुलंगार राजद्रोहीहरुको पहिचान गरिसकेपनी दण्डित गर्न सकिरहेका छैनन्। जनता असक्षम भएर ती अभियुक्तहरु उम्कन सफल भएका चाहिँ होइनन्। गुह्य यथार्थ त यो होकि समग्र राज्यसंयन्त्र नै तिनिहरुले कब्जामा लिएका छन्। स्थिती हेर्दा यस्तो देखिन्छ कि यसबेला जनताहरु युद्दमा लड्दा लड्दा खरखजाना रित्तिएर किंकर्तब्य बिमूढ लखतरान निरीह सिपाहि जस्ता भएका छन् भने भ्रष्टाचारिहरु चाहिँ हातहतियार र मजबूत दलबलमा सजिएर हामी जनतालाई खवरदारिमा ललकारिरहेका छन्। यो देशको राजनितिमा बिधमान सजिव चित्र हो। हो, देशका समग्र नागरिकहरुको अवस्था यस्तै दयनिय छ।
राज्य संयन्त्रमा भ्रष्टाचारिलाई कार्यवाही गर्ने निकाय त छ तर त्यो रोबोटिक सिस्टममा छैन। रोबोटिक सिस्टममै भएपनी प्रोग्राम भर्ने इन्जिनियरहरुले आफू अनुकूल प्रोग्राम भरेका छन्। अख्तियार अनुसन्धान आयोग भन्ने निकम्मा राज्य निकायको तालचावी गोजिमा बोकेर हिड्नेहरु नै आजाद भ्रष्ट हुन्। भ्रष्ट धुन्दुकारिहरुले कार्यपालिका, ब्यवस्थापिका, न्यायपालिका र सरकारी संचार जगतलाई कब्जा गरेपछी जनता यति निरीह बनेका छन् कि हात खुट्टा बांधेर पाखामा लडाइदिए सरह भएका छन्। यदि यहि ब्यवस्था, कानून र संस्कृती मानेर जाने हो भने जनताले अझ गैगुज्रेको अवस्थामा हुत्तिनु पर्नेछ। यसै कारणले राजनिती शास्त्रमा दखल राखेर विश्लेषण गर्ने निरपेक्ष र स्वतन्त्र बुज्रुकहरुले नेपालमा व्यवस्था परिवर्तनको खातिर आफ्ना मत जाहेर गरिरहेका छन् भने भ्रष्टहरु चाहिं साविक राज्यव्यवस्था र राजनिति संस्कृतिको निरन्तरताका खातिर अनेक धम्कीको भाष्यमा दर्शन र पाठ पढाउंदै जनताकै हुर्मत कांढिरहेका छन्। नागरिकहरुलाई पक्ष बिपक्षमा बिभाजन गरेर इन्क्लावको बुलुन्दिलाई बुचो लाउने कसरतमा अहोरात्र खटेका छन्। अनेक भ्रम सिर्जना गरेर जनतलाई रनभुल्ल पार्ने अभ्यासलाई तिब्रता दिइरहेका छन्।
तिनिहरुले षडयन्त्र गरिरहेका छन्। आफ्ना स्वाधिनतालाई बचाउन तिनिहरुले सकेजती सम्पूर्ण जुक्ती प्रयोग गरिरहेका छन्।
यति हुदा हुँदै पनि मुलुकमा एकपंक्ती जनता चुप लागेका छैनन्। एक पंक्ती समाज यिनिहरुको भण्डाफोर गर्न चुकिरहेका छैनन्। यकिनका साथ बिश्वास लिएर तिनिहरुको अकर्मण्यतालाई उदांगो पार्न लागिपरेका छन्। ढिलो चांडो भ्रष्टहरुको पराजय सुनिस्चित छ नै परन्तु प्रचलित राज्यव्यवस्थालाई उखालेर नफ्यांकिन्जेल भ्रष्ट कुलंगारहरुको मोर्चा सुरक्षित रहिरहनेछ। त्यसैले पनि मुलुकमा ब्यवस्था परिवर्तनको आकांक्षा लहडमा नभएर अपरिहार्य आवश्यकता भएको छ।
ब्यवस्था परिवर्तनका बिकल्पहरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी शाषक वा परंपरागत राजसंस्था मध्ये कुनै एक नेपाली जनतासामु रोजाइका दुई प्रणालीहरु अगाडि आएका छन्।
प्रत्यक्ष निर्वाचित कार्यकारी रहने ब्यवस्थामा पनि निमिट्यान्नै हुने गरि भ्रष्टाचार अन्त्य हुन्छ भनेर बिश्वास गर्न नसकिने उदाहरणहरु प्रशस्तै छन् जस्तो कि बंगलादेश, श्रीलंका जस्ता पिछडा दक्षिण एशियाली मुलुकहरु। तैपनी अहिलेको हाम्रो गाइजात्रे संघिय संसदिय ब्यवस्था भन्दा प्रत्यक्ष निर्बाचित प्रणाली बिसको उन्नाईस चाहिँ अवश्य हुन्छ।
राजसंस्था इमान्दार र लोकसम्मतिमा चल्न सके नेपालको सन्दर्भमा चाहिँ राजतन्त्र नै उपयुक्त हुनसक्ने केही सकारात्मक तर्कहरु निकै बलशाली छन् । अहिलेको गणतान्त्रीक ब्यवस्थाले दिएको आहत र आततायी प्रताड्नासंग तुलना गर्दा बिगतको राजतन्त्रात्मक प्रणाली कता हो कता राम्रो र औचित्यपूर्ण थियो भन्ने प्रशस्त आधारहरु निर्माण भएका छन्।
जे होस जसरी होस नेपालमा राजनितिक व्यवब्यवस्था परिवर्तन अवश्यंभावी छ परन्तु यसले केही समय चाहिँ लिने नै छ। जय नेपाल

मोति चाम्लिङ वि पि अध्ययन प्रतिष्ठान हङकङका अध्यक्ष हुन ।

Leave a Reply