काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूको साझा केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ। संगठनका इन्चार्ज हितमान शाक्यले संगठनको एकताले भाद्र महिनाभित्र नै पूर्णता पाउने बताएका छन्।
बागबजारस्थित साविक अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय कार्यालयलाई नयाँ व्यवस्थापनसहित साझा कार्यालय बनाएको संगठनका संयोजक ऐन महरको भनाई छ।
उद्घाटनपछि नेकपाका तर्फबाट विद्यार्थी (फ्याक्सन) हेर्ने जिम्मेवारी पाएका इन्चार्ज शाक्य र सहइन्चार्ज विनोद ढकाललाई कार्यालयमा स्वागत गरिएको थियो।
अनेरास्ववियूका संयोजक महर र सहसंयोजक रञ्जित तामाङले आआफ्नो कार्यकक्षमा पदभार सम्हालेका छन्। कार्यालय उद्घाटन समारोहमा अनेरास्ववियूका पूर्व अध्यक्ष लेखनाथ न्यौपाने, ठाकुर गैरे, रामकुमारी झांक्री, रमेश मल्ल, नविना लामालगायतको उपस्थिति रहेको थियो।