काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले आफ्नो ३४औँ वार्षिकोत्सव मनाएको छ। आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए।
उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए। निजामति कर्मचारीका लागि सरकारले वृद्धि गरेकै अनुपातमा सबै कर्मचारीको मासिक तलब भत्ता पनि वृद्धि गरिएको उनले जानकारी दिए। त्यसैगरी महँगी भत्ताबापत सबै कर्मचारीले प्रति महिना थप २ हजार पाउने भएका छन्। यसअघि प्राधिकरणले कर्मचारीहरुको महँगी भत्ता रोकेको थियो।
मन्त्री पुनले प्राधिकरण नाफामा जानु र त्यहाँ कार्यरत कर्मचारीको पनि सेवा सुविधा बढ्नुले यो वर्ष गौरवको र उपलब्धिको वर्ष भएको भन्दै खुसी व्यक्त गरे। प्राधिकरणले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा कमाएको छ। प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा एउटा समिक्षा पुस्तकको समेत विमोचन गरिएको छ।