Tuesday, January 19, 2021
Home > special_two > मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

मेलम्ची नगरपालिकाको वडा कार्यालयमा आगजनी

काठमाडौँ – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन्।

बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ। आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए। स्थानीयले आगो निभाइसकेपछि प्रहरी घटनास्थल पुगेको थियो। बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली घटनास्थल पुगेर निरीक्षण गरेका थिए। उनीहरुले नै जलेका सामानबाहिर निकालेका थिए।

वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् । बिहान साढे पाँच बजेतिर आगो लागेको भनेर स्थानीयले खबर गरेपछि आफू घटनास्थलमा पुगेको बताउँदै उनले भने, ‘फर्निचर त फेरि किन्न सकिएला, तर अभिलेखहरु अब कहाँ पाउनु ?’

करिब २० लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन बनाइएको थियो। भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए । ती सबै सामान जल्दा जस्ताको छानोसमेत कच्याक कुचुक भएर काम नलाग्ने भएको छ।

वडाअध्यक्ष खड्काले यसअघि कसैको धम्की, चेतावनी पनि नआएको र कसले आगो लगायो भन्ने थाहा नभएको बताए। मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र दर्नालले बिहान ६ बजेतिर आफूले घटनाबारे जानकारी पाएको अनुसन्धान गरिरहेको बताए।

दर्नालले भने, ‘घटनास्थलको प्रकृति हेर्दा आगो लगाउने व्यक्ति कार्यालयको मुख्य ढोकाको ताल्चा हेक्सा ब्लेडले काटेर भित्री छिरेर आगो लगाएको पाइयो, यसको अनुसन्धान जारी छ।’ तर, अहिलेसम्म आगजनी गर्ने व्यक्ति वा समूह पत्ता लागेको छैन । प्रहरीले पनि कसैलाई पक्राउ गरेको छैन।

Leave a Reply