Wednesday, January 27, 2021
Home > special_two > नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

उपमहानगरमा आर्थिक वर्ष २०७४/०७५ मा विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ हिनामिना गरेको अभियोगमा सुवेदीसँगै उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायब सुब्बा अब्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनीषकुमार मिश्रविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उपमहानगरका कर्मचारीले सत्या इन्टरप्राइजेजका मिश्रसँगको मिलेमतोमा सामान खरिद गरी अनियमितता गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ।

अख्तियारका अनुसार कर्मचारीहरूले एउटै व्यक्तिलाई तीनवटा फर्मका नाममा टेन्डर हाल्न लगाएर सत्याको दर स्वीकृत गरेका थिए । प्रतिस्पर्धालाई सीमित बनाउन टेन्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा बढी मूल्यमा आवश्यकताभन्दा धेरै विद्युतीय सामग्री खरिद गरेको समेत अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ। अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका इन्जिनियर बसी अख्तर मोहम्मदविरुद्ध समेत मंगलबार नै मुद्दा दायर गरेको छ। मोहम्मदले सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकालेमुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

कान्तिपुर दैनिकका अनुसार अख्तियारले सोमबार सिनियर डिभिजनल इन्जिनियर उपसचिवसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले साविक जिल्ला प्राविधिक कार्यालय भोजपुरका तत्कालीन सिनियर डिभिजन इन्जिनियर लालु गिरीविरुद्ध भोजपुर–टक्सारकोट–गगने–लेखर्क सडक स्तरोन्नति योजनामा अनियमितता गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार गिरीले उक्त योजनामा १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेका थिए । अख्तियारले गिरीलाई जेल सजाय र भ्रष्टाचार रकम बराबर जरिवाना गर्न मागदाबी गरेको छ ।

अख्तियारले राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत रामअवतार गुप्तालाई घूस लिएको अभियोगमा पक्राउ गरेको छ । गुप्ताले जनचेतनामूलक सामग्री रेडियोमा प्रचारप्रसार गर्न कोटेसन लिई कार्य सम्पन्न गरी भुक्तानी दिने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घूस लिएको अख्तियारले उल्लेख गरेको छ।

मालपोत कार्यालय सिरहाका नायब सुब्बा मिथिलेश्वर ठाकुर र लेखापढी व्यवसायी राजवंशी चौधरी पनि घूससहित पक्राउ परेका छन् । ठाकुर र राजवंशीलाई जग्गाको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग लिएको ४ हजार रुपैयाँ घूससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनीहरूलाई अख्तियारको हिरासतमा राखिएको छ।

Leave a Reply