काठमाडौँ, २२ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सरकारले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने बताए ।
किङकम स्पोर्टस क्लबले आज यहाँ आयोजना गरेको उपत्यकास्तरिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै नेता सिंहले छोटो समयमा धेरै निर्वाचन गर्नुपर्ने भएकाले सरकाले तत्काल निर्वाचन घोषणा गर्नुपर्ने बताए ।
उनले भन्नुभयो, “ समयमा तीन तहको निर्वाचन नगरे अहिलेसम्म भएको उपलब्धी गुम्न सक्छ त्यसैले दलहरु एक भएर निर्वाचनमा जाऔँ ।” पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले सरकारले कुनै पनि बहानामा निर्वाचन रोक्न खोज्यो भने त्यो काँग्रेसलाई मान्य नहुने स्पष्ट पारे ।
उनले संविधान निर्माणमा लागेका दलहरु संविधान कार्यान्वयनमा पनि एकजुट हुनुपर्ने बताउँदै आफ्नो पार्टीको स्वार्थलाई छाडेर मुलुकप्रति गम्भीर हुन आग्रह गरे । १५ दिनसम्म चल्ने उक्त प्रतियोगितामा काठमाडौँ उपत्यकाका ३६ टिमले भाग लिएका छन् ।