Wednesday, January 20, 2021
Home > special_two > यातायात सञ्जाल विस्तार पहल: चीनका १५ विमानस्थलमा पहुँच

यातायात सञ्जाल विस्तार पहल: चीनका १५ विमानस्थलमा पहुँच

काठमाडौँ । नेपाली वायुसेवाका लागि पूर्वनिर्धारित ७ वटा विमानस्थलमध्ये एउटा पनि प्रयोगमा नआइरहेका बेला चीनले नेपाललाई थप ८ वटा विमानस्थल प्रयोग गर्न अग्रिम सुविधा दिएको छ। थपिएका आठवटा विमानस्थलको नाम तोकिएको छैन।

बेइजिङमा दुई दिनसम्म चलेको नेपाल–चीन हवाई सेवा सम्झौता पुनरावलोकन बैठकपछि शुक्रबार जारी समझदारी ९एमओयू० पत्रमा चिनियाँ पक्षले नेपाल एयरलाइन्सलाई बेइजिङ, सांघाई, ल्हासा, ग्वाङझाउ, कुन्मिङ, छेन्दु र सिआनमा उडान भर्नुका साथै अन्य आठवटा गन्तव्य आफैं रोज्ने स्वतन्त्रता दिएको हो ।

वाइडबडीको अभाव र वायुसेवा निगमको कमजोर व्यवस्थापनका कारण झन्डै एक दशकदेखि नेपाली विमानले चिनियाँ आकाशमा फेरो लगाउन पाएका छैनन् । सन् २००७ अघि निगमले सांघाई हुँदै जापानको ओसाकासम्म बोइङ ७५७ बाट उडान गर्थ्यो । त्यसयता उडान स्थगित छ ।

चीनले नेपालका दुईवटा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा साप्ताहिक २१ वटा उडान गर्ने गरी अग्रिम ‘बुकिङ’ पनि गरेको छ । सन् २०२० देखि सञ्चालनमा ल्याइने भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि चीनले आफ्नो अवतरण सुरक्षित गरेको हो ।

वार्तामा सहभागी बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले भने, ‘विमानस्थल अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति हुन नपाउँदै चीनले ठाउँ ओगट्दा अन्तर्राष्ट्रिय जगत्मा सकारात्मक प्रभाव पर्नेछ । अरू देश पनि त्यहाँ अवतरणका लागि उत्प्रेरित हुनेछन् ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ।

Leave a Reply