Wednesday, January 27, 2021
Home > mophosala > गृहमन्त्रीलाई प्रश्न ; हवाई फायर गर्दा कसरी गोली लाग्यो ?

गृहमन्त्रीलाई प्रश्न ; हवाई फायर गर्दा कसरी गोली लाग्यो ?

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा बादलले सर्लाहीको ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्युभएपछि स्थानीयले गरेको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गर्दा सरोजनारायण यादवको मृत्यु भएको बताएका छन् ।

‘हवाई फायरमै यादवको मृत्यु भएको हो । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले न्यूनतम बल प्रयोग गरेको थियो’ गृहमन्त्री थापा मङ्गलबार संसद बैठकमा घटनाबारे जवाफ दिँदै थिए ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको गृहमन्त्रीको भनाई छ । ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा चलेको गोली लाग्यो’ मन्त्री थापाको स्पष्टीकरण छ ।

मंगलबारको संसद बैठकमा काँग्रेस र राजपा सांसदहरुले सर्लाही घटनाबारे प्रश्न गरेका थिए । ‘हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो ?’ सांसदहरुको प्रश्न छ ।  गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै सांसदहरुले सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे । उनीहरुले नाराबाजी गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।

सभामुखले समिति गठनबारे दलहरुबीच सल्लाह गर्नुपर्ने भन्दै बैठक संञ्चालन गर्न पटक पटक अनुरोध गरेपनि सांसदहरुले वेल घेराउ गर्दै ‘संसदीय समिति गठन गर’ भन्ने नाराबाजी गरिरहेपछि बैठक स्थगित गरेका थिए ।

Leave a Reply