Friday, January 22, 2021
Home > mophosala > जागरण अभियानले कार्यकर्तालाई क्रियाशील त बनायो, तर बढी प्रचारात्मक मात्रै भयो: रामचन्द्र पौडेल

जागरण अभियानले कार्यकर्तालाई क्रियाशील त बनायो, तर बढी प्रचारात्मक मात्रै भयो: रामचन्द्र पौडेल

कांग्रेसको राष्ट्रिय जागरण अभियानमा निस्किनु अघिदेखि नै तपाईं जिल्ला दौडाहामा हुनुहुन्थ्यो । जागरण अभियान कस्तो भयो ?
अभियान सुरु हुनु अघिदेखि नै म १५/२० जिल्ला घुमिसकेको थिएँ । ‘हिमाल पहाड तराई–मधेस, नेपाली कांग्रेस’ भनेर कांग्रेसले जागरण अभियान सुरु गर्‍यो । त्यसले कार्यकर्तालाई क्रियाशील त बनायो, तर बढी प्रचारात्मक मात्रै भयो । संगठनात्मक उपलब्धि हासिल भएन । कार्यक्रम नै संगठनका लागि योगदान दिने गरी तय गरिएको थिएन ।

पार्टीमा छलफल भएरै तय भएको कार्यक्रम किन फलदायी हुन सकेन ? 
अभियानले संगठनका भद्रगोल मिलाउनुपर्थ्यो , नबनेका संरचना र कार्यसमिति बनाउनुपर्थ्यो  । समितिहरूलाई पूर्णता दिने, समायोजनका काम गर्नुपर्थ्यो । तर, संगठनसम्बन्धी कामै भएन, बढी प्रचारात्मक मात्रै भयो ।

तपाईं पार्टीको प्रभावशाली नेताका हिसाबले अभियानमा जानुअघि के–के विषयमा काम गर्ने भनेर नेतृत्वसँग  छलफल भएन ? 
जुन रूपमा छलफल हुनुपथ्र्यो त्यो नभएकै हो । छलफल गरेर, सोधेर कार्यक्रम राखेको भए हुन्थ्यो । एक दिन विश्वप्रकाश शर्माले अर्कै प्रसंगमा ‘यस्तो कार्यक्रम गर्नुपर्‍यो’ भनेर सुनाउनुभयो । त्यसपछि छलफल होला भन्ने सोचेको थिएँ, तर कार्यक्रम नै सुरु भइहाल्यो । के एजेन्डा राख्ने भनेरसमेत सल्लाह भएन । त्यसैले संगठनात्मक विषयमा अभियानले छोएन । जागरण अभियान साहित्य मात्र भयो ।

तल्लो तहका कार्यकर्ताले अभियानलाई कसरी लिए ? 
तलका नेता कार्यकर्ताले केन्द्रमा नै जागरण अभियान गर्नुस् भने । ‘केन्द्रमा नै समस्या छ, हामीलाई भन्दा तपाईंहरूलाई नै जागरण चाहिएको छ’ भनेर पठाए । केन्द्रका गतिविधि, कारबाही, प्रतिपक्षको भूमिकालाई प्रभावकारी बनाउनुप-यो भने । केन्द्रमा भएका नराम्रा कामबारे सुनिरहनुपरेको गुनासो गरे । कार्यकर्ताको मानसिक अभिव्यक्तिमा खिन्नता देखियो । उनीहरूले पहिलो सुधार केन्द्रमा खोजेका छन् । पार्टीका सक्रिय कार्यकर्ता गाउँमा कार्यक्रम हुँदा उपस्थित भए, परिचालित भए । धेरै कार्यकर्तालाई अभियानले छोयो तर, अभियानले पनि संगठनको स्थितिमा परिवर्तन ल्याएन ।

फेरि भदौबाट दोस्रो चरणको अभियान सुरु गर्ने भनिएको छ । पहिलो चरणको अभियानमा देखिएका निराशा चिर्न के एजेन्डा बनाउनुभएको छ ?
अहिले दोस्रो चरणका लागि कुनै मुद्दा बनेको छैन । पहिलैकै कुरा लिएर दोस्रो चरणमा जाने कुरा हुँदैन । कांग्रेसलाई बलियो बनाउने हो भने पार्टीको संगठनात्मक स्वरूपलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रीय नेतृत्व गम्भीर हुनुपर्छ । पार्टीका नियमित कार्यसूचीलाई कार्यान्वयनमा ल्याउनुपर्छ । चार वर्षको कार्यकाल भनेर विधानले तोेकेको छ । त्यो कार्यकालभित्रै अधिवेशन सम्पन्न गराएर सबै तहमा अर्को समिति आउने वातावरण तयार गर्नुपर्छ । तर, पार्टी नेतृत्वको ध्यान त्यतातिर छैन । सदस्यता वितरण र नवीकरण सुरु नै भएको छैन । पहिलो चरणको अभियानमा सदस्यता वितरणसमेत सुरु गरेन । सदस्यता नवीकरण र वितरण, प्रारम्भिक समितिको गठनलगायत काम जस्ताका तस्तै छन् ।

सरकार अहिले कांग्रेसले ल्याएका पुराना कार्यक्रम र आयोजनालाई उद्घाटन गरेर कांग्रेसलाई नै गाली गरिरहेको छ । मेलम्चीमा हामीले सुरुङ छेडिदियौँ, कम्युनिस्टका मन्त्री गएर फोटो खिचाए । तर, पानी आउने कहिले हो कहिले ।

पार्टीभित्र विधानले व्यवस्था गरेको संघीय संरचना कसरी बनाउने भन्नेमा विवाद हो ? 
संक्रमणकालीन व्यवस्थामा पार्टीका वडादेखि प्रदेशसम्मकै तह निर्वाचनबाट गठन गर्ने विषय विधानमै उल्लेख छ । विधानबमोजिम गर्नुपर्छ । तदर्थ समिति, के समिति भनेर हुँदैन । नेतृत्वले आफ्नो सुविधाको कुरा मात्र खोज्ने हो भने विधान किन चाहियो ?

कांग्रेसमा पार्टीको नेतृत्वभन्दा बाहिर हुँदा मात्रै विधानको विषयलाई उठाउने अभ्यास देखिन्छ । विधानलाई आफूअनुकुल व्याख्या गरेपछि कसरी कुरा मिल्छ ? 
अहिले केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँले विधेयक ल्याउँदा लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्दै हुनुहुन्छ भनेर हामी विरोध गर्दैछौँ । सरकारलाई अरू काममा पनि विधि र संविधानसम्मत चल भनिरहेका छौँ । अरूलाई भनेर मात्रै हुँदैन, हामी पनि पार्टीको विधि, विधान र पद्धतिअनुसार चल्नुपर्छ । अरूलाई विधि उलंघन गर्‍यो भन्ने, आफ्नै अभ्यासमा विधानको धज्जी उडाउने शैलीले पार्टी बलियो हुँदैन ।

पार्टीको प्रभावशाली व्यक्ति भएर तपाईंले नेतृत्वलाई विधानअनुसार चलेन पनि भन्ने, सहमतिमा अघि बढ्नुपर्छ भनेर अड्काउने काम पनि गरेको भन्ने आरोप छ नि ? 
आलोचनाका लागि आलोचना गर्ने पक्षमा म पहिले पनि थिइनँ, अहिले पनि छैन । गलत कुरा र प्रवृत्ति देखा पर्न थाल्यो भने सतर्क गराउने जिम्मेवारी हुन्छ । यसर्थ पार्टी सदस्य, कार्यकर्ता र नेताले जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ ।

तपाईंको नजरमा पार्टी जिम्मेवारीबाट कहाँकहाँ चुकेको छ ? 
जिम्मेवारी भनेको विधानले जे अधिकार दिएको छ त्यसलाई पूरा गर्ने हो । डेढ वर्षदेखि नेविसंघको अधिवेशन गर्न ताकेता गरिरहको छु । अहिलेसम्म भएको छैन । कार्यकर्ता र नेता उत्पादनको नर्सरी नै बेवारिसे बनाएर मुहान सुकाउने काम भइरहेको छ । दलित संघ, किसान संघ, प्रजातन्त्र सेनानी संघसहितका भ्रातृ संस्थाको १० औँ वर्ष हुँदा पनि महाधिवेशन भएका छैनन् । अरू पनि पार्टीका संरचना बनेका छैनन् । अब समय थप्ने कुनै बहाना सभापतिलाई छैन । १४औँ महाधिवेशन गर्ने बाटोमा सक्रिय सदस्यता वितरण र संरचना गठन गरेर अधिवेशन अगाडि बढाउनुपर्छ । आफू अनुकुल बनाउँछुृ भनेर खेल्न र व्यवधान खडा गर्न खोजियो भने संगठन अप्ठ्यारोतिर जान्छ । नदीको प्रवाह रोकिँदा किनारा भत्काएजस्तै हुन्छ ।

सभापतिले विधानअनुसार विभाग गठन र भ्रातृ संस्थाको महाधिवेशन गर्न खोजेका थिए, तपाईंहरूले नै सहमतिका नाममा अल्झाउनुभएको हो नि ?
हामीले अड्काउने कुरा गरेका छैनौँ । म नभएको बैठकमा सभापतिले त्यस्तो भन्नु भएछ । एउटा मापदण्ड बनाएर गरौंँ, उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारी दिऊँ भन्ने हाम्रो कुरा हो । परराष्ट्र मामिला नै नबुझ्नेलाई परराष्ट्र विभाग, अर्थ नबुझ्नेलाई अर्थ विभाग, संगठन नबुझ्नेलाई संगठन विभाग दिएर हुन्छ ?  निष्पक्षरूपमा पार्टी चलाऔँ, नजिकका भए पनि योग्यता नभएकालाई जिम्मेवारी नदिऊँ भन्ने हाम्रो मत हो । पार्टी सभापतिले पक्ष विपक्षको दृष्टिले नहेरी सबैलाई विश्वासमा लिएर काम गर्नुपर्छ । यसले आफूलाई हिजो भोट दियो, यसले दिएन भनेर विभेद गर्न हुँदैन ।

पुस्तान्तरणको कुरा अराजनीतिक विषय हो । कसको आवश्यकता हुन्छ उही अगाडि बढ्छ । हामी पनि युवा हुँदा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालाई अब तपाईंहरूले निर्वाचन नलड्ने भनेर कागज गराएका थियौँ, तर, काम लागेन ।

तपाईंहरूले नै ४० प्रतिशतको भागबन्डा खोजेपछि सभापतिलाई अप्ठ्यारो होला नि ?
पार्टीमा भागबन्डा होइन, साथीहरूलाई न्याय हुनुपर्छ भन्ने मात्रै हो । सभापतिको चाहनाअनुसार समानुपातिक सांसद छानिँदा नगण्य मात्रामा अरू मान्छे परेका होलान् । अनुहार हेर्दा पनि हाम्रो ४० प्रतिशत छैन । भागबन्डा भनेर हल्ला गरिदिने तर गर्ने वेलामा एकलौटी गर्ने । आन्तरिक निर्वाचनमा जस–जसले भोट हाले पनि तेरो,मेरो नगरी जाऊँ, चुनावमा जित्नेलाई टिकट दिऊँ भन्ने मेरो भनाइ हो । यसलाई भागबन्डा खोजेको भन्न मिल्दैन ।

तपाईंले पाएको छैन भने पनि ४० प्रतिशत लिइरहेको भन्ने प्रचार छ । मलाई ४० प्रतिशत चाहिँदैन भनेर किन भन्न सक्नुहुन्न ? 
मैले पार्टी बनाऊँ, उपयुक्त मान्छेलाई उपयुक्त जिम्मेवारी दिऊँ भनेको हो । ४० प्रतिशत लिन्न भन्नुपर्छ ? त्यसो हो भने मैले लिँदै लिन्न, तिमी जे गर्न मन लाग्छ गर भनेर हिँडे भइहाल्यो । सबै छोड्दिने हो भने मेरा साथी नै मलाई नेता भएको के काम, हाम्रा लागि केही गरिनस्, अन्याय हुँदा हेरेर बस्यो भनेर कुरा उठाउँछन् । त्यसैले मैले गाल टारेको मात्र हो ।

भनेपछि, तपाईं सभापतिको पेलान र आफ्नै समूहको दबाबमा हुनुहुन्छ भनेर बुझौँ ? 
म पार्टीमा गुटबन्दी गर्ने नेता होइन । मेरो गुट छैन । म आफू अनुकुल मान्छेलाई च्यापेर हिँडेको छैन ।

गुट छैन भने पनि तपाईंकै समूहका नेता गुटगत बैठक र छलफल गरिरहेका छन् । त्यसतर्फ तपाईंको  ध्यान गएको छैन ? 
मैले पार्टीको हितमा सोचेको हुनाले गुट बनाइनँ । आफ्नो स्वार्थका लागि पार्टीलाई जोखिममा पार्ने नेता म होइन । बरु पार्टीको हितका लागि आफूलाई जोखिममा पारेर, नोक्सान सहेको छु ।सबैले पार्टीको हित कसरी हुन्छ भन्ने सोच्नुपर्छ । मैले साथीहरूलाई अहिले आफैँ दाबी नगरौँ, महाधिवेशनको समय आएपछि आवश्यकताका आधारमा मिलनबिन्दु खोजौँला भनेको छु । मैले कोइरालाको सिंगो परिवारदेखि प्रकाशमानजी, रामशरणजी, सिटौलाजीलगायत सबैलाई राखेर हतार नगरौँ भनेको छु । साथीहरूलाई सम्झाएपछि यस्ता खालका भेट र बैठक कम भएका छन् ।

महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइरालाले आफूलाई सभापतिको उम्मेदवार हुँ भनेर भनिरहनुभएको छ । तपाईंसँग सल्लाह भएरै हो ? 
मसँग छलफल त के आशा पनि व्यक्त गर्नुभएको छैन । शशांकजी सोझो मान्छे, पत्रकारले जिस्काएपछि केही बोलिदिनुभयो होला । हाम्रो सहमति सल्लाहअनुसार जानुपर्छ भन्ने नै हो । व्यक्तिको कुरा नगरौँ । समय आएपछि सल्लाह गरेर अघि बढ्ने भन्ने नै हाम्रो सहमति हो ।

१३ औँ महाधिवेशनमा पूर्वसंस्थापन एक ठाउँमा नहुँदा सभापतिमा तपाईं पराजित हुनुभयो, अहिले पनि खासै सुधार भएको छैन । एउटा पक्षको नेताका रूपमा १४औँ महाधिवेशनबारे केही पूर्वानुमान गर्नुभएको छ ? 
अहिले मैले त्यसबारे सोचेको छैन । कांग्रेसले असामान्य संकट झेलिरहेकाले मलाई पार्टीलाई जोगाउनुपर्ने चिन्ता मात्रै छ । जे गर्दा पार्टी बलियो हुन्छ त्यता जानुपर्छ । कार्यकर्तालाई बलियो पार्टी दिनतिर हामी लाग्नुपर्छ ।

१४औँ महाधिवेशनसम्म कृष्णप्रसाद सिटौला पनि तेस्रो शक्तिको रूपमा देखिने संकेत देखिएका छ । १३औँ महाधिवेशनमा उहाँलाई समेट्न नसक्दा तपाईं पराजित हुनुभएको हो ?
गत महाधिवेशनमा सभापतिमा तीन जना लडेपछि यस्तो देखिएको छ । मैले सबैलाई समेट्ने प्रयत्न गरिरहेको छु । अहिलेको नेतृत्वबाट सन्तुष्ट नभएका, पार्टीको प्रगति चाहने जतिलाई समान रूपमा सँगै राख्ने प्रयास गरिरहेको छु । पार्टी सभापति निकटका काम लाग्ने नेता, योगदान दिन सक्नेको आवश्यकतालाई अहिले पनि नकारेको छैन, नकार्दिन ।

तपाईंले केही समयअघि सबै सिनियर नेताले विश्राम लिने हो भने आफू पनि तयार भएको आशय व्यक्त गर्नुको संकेत के थियो ? 
राजनीति कानुन र उमेरको हदले चल्ने विषय होइन । योगदान र सामथ्र्यले चल्छ । नयाँलाई नेतृत्व दिने होइन, लिने हो । भारतमा अटलबिहारी बाजपेयीले चाहेर नरेन्द्र मोदी नेता बनेका होइनन् । मोदी आफ्नो खुबी देखाएर अघि बढेका हुन् । भाजपा वर्षौंसम्म सत्तामा आउने अन्दाज थिएन । असम्भवलाई मोदीले सम्भव बनाइदिए । उनमा सम्भावना देखिएपछि सबैले अघि बढाए । निर्वाचनमा सफल भएपछि बाजपेयीले ‘मोदीजी ने हमारा उद्धार की’ भनिदिए । यसरी नै कमजोर बनेको कांग्रेसलाई पनि कल्याण गरिदिने नेता आऊन् भन्ने म पनि चाहन्छु ।अब यस्तो नेता छ कि छैन जनताले जान्ने कुरा हो । मैले अहिलेसम्म त्यस्तो नेता देखेको छैन । प्रजातान्त्रिक पार्टी छ कोही आफ्नो बलमा आउँछन् भने पार्टीले रोक्दैन, छेक्दैन । प्रतिभा धर्ती फाटेर आउँछ ।

सम्भावित नेतालाई प्रक्रियामा उम्मेदवाार नबनाएपछि तपाईंले भनेजस्तो प्रतिभा कसरी आउने ?
मैले उम्मेदवार बनाउने होइन । जनता र कार्यकर्ताले माग्ने हो । चुनाव लड्न हामीले तिमी उठ् तिमी नउठ् भन्दैनौँ, आफैँ उम्मेदवार बन्ने हो । त्यस्ता उम्मेदवारले गर्न सक्छ भन्नेमा सहमति भयो भने उम्मेदवार बन्छन् । राजनीतिमा हदबन्दी लगाउने घोर अप्रजातान्त्रिक कुरा हो । हदबन्दीका विषयमा मात्र मेरो प्रतिवाद हो । तर, नेता आउने क्रमलाई रोक्नुपर्छ भनेको होइन । सहयोग नै गर्ने पक्षमा छु ।

परराष्ट्र मामिला नै नबुझ्नेलाई परराष्ट्र विभाग, अर्थ नबुझ्नेलाई अर्थ विभाग, संगठन नबुझ्नेलाई संगठन विभाग दिएर हुन्छ ? निष्पक्षरूपमा पार्टी चलाऔँ, नजिकका भए पनि योग्यता नभएकालाई जिम्मेवारी नदिऊँ भन्ने हाम्रो मत हो ।

नयाँ पुस्ताले आँट गर्न सक्दैन भन्ने तपाईंको आशय हो ?
युवा पुस्ताले गर्दैन, सक्दैन भनेको होइन । यो पुस्ता र त्यो पुस्ताको कुरा होइन । पुस्तान्तरको कुरा अराजनीतिक विषय हो । कसको आवश्यकता हुन्छ उही अगाडि बढ्छ । नब्बे वर्षसम्म पनि नेतृत्व गरेका उदाहरण छन् । हामी पनि युवा हुँदा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालाई अब तपाईंहरूले निर्वाचन नलड्ने भनेर कागज गराएका थियौँ, तर काम लागेन । चुनाव लड्नेछैनौं भने पनि उहाँहरूले मान्नुभएन । गिरिजाबाबुले शान्ति प्रक्रियाको त्यत्ति ठूलो नेतृत्व गर्नुभयो । गणेशमानलाई तपाईं ६० कट्नुभयो भन्देको भए ४६ सालको परिवर्तनमा नेता को हुन्थ्यो ? उहाँलाई अघि नसारिएको भए सर्वमान्य नेता न देशले पाउथ्यो न कांग्रेसले नै ।

सभापतिले पार्टीलाई भद्रगोल बनाउनुभयो भन्ने तपाईको धारणा छ । उहाँबाहेकको पार्टी पंक्तिलाई समेटेर तपाईं फेरि सभापतिको उम्मेदवार बन्न खोज्नुभएको हो ?
पार्टी महाधिवेशनको मिति तय भयो भने त्यहीवेला तय हुन्छ । कसको आवश्यकता पर्छ, नयाँ चाहिन्छ कि पुरानो चाहिन्छ भन्ने विषयमा छलफल गरौँला । अहिले त्यो हतार हुन्छ । राजनीतिमा कोही कसैको विकल्प भन्ने हुँदैन । पार्टीका सबै साथीले त्यसलाई महसुस गर्नुपर्‍यो ।
सुशील कोइरालाको निधनलगत्तै तपाईंले कृष्णप्रसाद सिटौला पक्षलाई समेट्ने प्रयत्न गर्नुभएन भन्ने गुनासो थियो नि ?
यो सबै अनावश्यक कुरो हो । मैले उहाँलाई पार्टीको कुन स्थानमा कसलाई कहाँ राख्ने मिलाउनुहोस् भनेको थिएँ । त्यो सबै बहाना मात्रै हो । मैले उहाँलाई भाग लगाउने भान्से बनाउन खोजेको थिएँ । किन मान्नु भएन त्यो उहाँलाई नै थाहा होला ।

आगामी महाधिवेशनमा देउवाविरुद्ध कोइराला परिवार र सिटौलालगायत सबै एक ठाउँमा आउनुहुन्छ ?
सबै मिल्नैपर्छ भन्ने पनि छैन । त्यो कार्यकर्ताको चाहनामा भर पर्छ । अघिल्लोपटक पनि अलिकति प्राविधिक विषय नमिलेर हारियो । अहिले परिस्थिति परिपक्व भएको अवस्था छ । मिल्छौ कि मिल्दैनौँ अहिले नै केही भन्न सकिन्न । तर, मिल्ने प्रयत्न भइरहेको छ । विश्वास छ पार्टीको संकट समाधानका लागि साथीहरू एक हुन्छन् ।

सभापति देउवाले तपाईले प्रशिक्षण प्रतिष्ठानको नेतृत्व गर्दा पराजित भएको पार्टी विमलेन्द्र निधिले नेतृत्व गरेपछि जितेको भन्नुभएको थियो । तपाईको नेतृत्व क्षमता नपुगेकै हो त ?
शेरबहादुरजीले अस्ति नै अलिकति झुटो कुरा बोल्नु भएछ । रामचन्द्रजीले प्रशिक्षण सञ्चालन गर्दा पार्टी हार्‍यो, विमलेन्द्र निधिले सञ्चालन गर्दा अब जिताउनुपर्छ भन्नुभयो । उहाँले बिर्सिनुभएछ, ०६४ हारेको पार्टी मैले नेतृत्व गर्दा ०७० मा जितेको हो । पार्टी जिताएर संविधान बनाउन नेतृत्व गर्ने बनाएको कसले ? उहाँको सम्झना कमजोर भएको कि के हो थाहा छैन । पार्टी त उहाँ सभापति भएपछि हारेको हो । त्यसपछि म त्यो प्रतिष्ठानको संयोजक भएकै छैन । उहाँले यस्तै कुरा गरेको भएर त पार्टीलाई राम्रो भएन भनेको हुँ ।

सभापतिले पार्टी महाधिवेशनका लागि एक वर्ष समय बढाउने कुरा उठाउनुभएको छ । यसमा तपाईंको धारणा के हो ?
उहाँले यो विषय बोल्नु भएछ । संविधानलाई आधार मानेर पार्टीले विधान बनाइसकेको छ । पार्टी आफ्नो विधानअनुसार चल्नुपर्छ । त्यो विषयलाई उहाँले उपेक्षा गर्नुभएको छ । नियमित र सहज प्रक्रियालाई असहज र असाधारण बनाउनेतिर लैजाँदै हुनुहुन्छ । त्यसले पार्टीलाई फाइदा गर्दैन । समयमा अधिवेशन गर्नुमा मात्रै पार्टीको भलो हुन्छ । नेताले झुलाएर राख्ने, चुनावको पहिरोले किचेपछि आत्तिने अवस्थामा पुर्‍याउनुहुँदैन । अहिले अधिवेशन लम्ब्याउने कुरा नगरौँ ।

महाधिवेशनको निर्धारित कार्यतालिका दिइहालौँ । त्यसलाई लक्ष्य बनाएर हाम्रा प्रारम्भिक समिति एक वर्षअगाडि बनाउने भनेको छ, त्यो बनाइहालौँ । सदस्यताको टुंगो अझैँ लागेको छैन । सबै कुरा रोकेर राख्ने, पछि गएर लौँ असाधारण स्थिति आयो भनेर आफैँले सिर्जना गरेको अप्ठेरोमा पार्टीलाई हालेर फसाउनु त भएन नि ।
नियमावलीले केही पनि रोक्दैन, सबै विषय विधानले खुलाइसकेको छ । महासमितिमा विधान पास भएपछि नै हामीले सुरु गर्नुपर्ने हो, तर नियमावली देखाएर सुरु भएन । पार्टीलाई माया गर्ने मानिसले त्यस्तो गर्न सक्दैन । पार्टीको माया भएको भए यस्तो हालत हुँदैन थियो ।

सभापतिसँग धेरै कुरा नमिले पनि केन्द्रीय सदस्य तलैबाट चुनिएर आउने विषयमा यहाँले पनि समर्थन गर्नुभयो हैन ?
तलैबाट निर्वाचित भएर आउने विषयमा महासमतिमा उहाँको र मेरो कुरा मिल्यो । ‘एजेन्डा मिलेपछि पार्टी मिल्ने हो अब हामी मिल्यौँ । साथीहरू जानुहोस् एकताबद्ध भएर काम गर्नुहोस्’ भनेर साथीहरूलाई पठाइयो । यहाँ कार्य समितिमा आएपछि सभापतिले उल्टाउने काम गर्नुभयो । मैले त्यसमा फरक मत राखेँ । उहाँले बहुमतको बलमा निर्णय गर्नुभयो । यस्तो भएपछि कसरी कुरा मिल्छ ? महासमितिका साथीलाई दिएको आश्वासन मैले फिर्ता लिन सकिनँ, उहाँले सक्नुभयो ।

आफ्नै पक्षका साथी पनि सबैलाई अडानमा कायम गराउन सक्नु भएन नि ?
कोही व्यक्ति विशेष डराए होलान्, त्यस विषयमा म जान चाहन्नँ । त्यसको समीक्षा पनि होला ।

बालुवाटार जग्गा काण्ड, वाइडबडीलगयात विषयमा प्रतिपक्षका रूपमा कांग्रेसले सशक्त ढंगले आवाज उठाउन सकेको देखिएन । मौन बस्नुको कारण के हो ? 
हामी रक्षात्मक बन्नु परेकै हो । त्यो कसको कारणले हो भन्ने इतिहासले र समाजले छुट्याउने विषय हो । व्यक्तिगत हिसाबले मैले आफ्नो विषय राखिरहेकै छु । कसैलाई यत्तिकै आरोप लगाउने विषय होइन । सरकारले सत्यतथ्य के हो छानबिन गरेर बाहिर ल्याउनुपर्छ । त्यसमा कांग्रेसले पनि सहयोग गर्नुपर्छ । सभापति आफैँ राजनीतिक व्यक्तित्व भएका कारण उहाँमाथि लागेको आरोपको जवाफ उहाँले नै दिनुपर्छ । पार्टी बोल्दै नबोलेको पनि होइन । तर, संस्थागत ढंगले आवाज उठ्न नसकेको मात्रै हो । कांग्रेसका साथीले संसद्, सडक वा आमसभामा पनि यो विषयमा बोलिरहेका छन् । वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर त समितिले पनि भनकै छ । त्यो समितिमा नेपाली कांग्रेका मान्छे पनि छन् । बोल्दै नबोलेको भन्ने त होइन तर जति वजनदार हिसाबले आउनुपथ्र्यो त्यति भएन होला ।

कांग्रेसले सरकारलाई अधिनायकवादी भयो भनेको थियो । ओली सरकारका कार्यको समीक्षा कसरी गर्नुभएको छ ?
कुरो एकातिर र काम अर्कोतिर गर्नु यो सरकारको सबैभन्दा ठूलो बेइमानी हो । एकातिर समृद्धिको गफ हाँक्छ अर्कोतिर रोजगारी सिर्जना गर्ने काम गर्दैन । एउटा पनि रोजगारीका अवसर सिर्जना गरेको छैन, अनि कसरी बेरोजगारी हट्छ ? विकासका गतिविधि हेर्ने हो भने पनि न कतै नयाँ योजना ल्याएको देखिँदैन, न केही नयाँ शिलान्यास गरेको देखिन्छ । हुँदाहुँदा सरकार अहिले कांग्रेसले ल्याएका पुराना कार्यक्रम र आयोजनालाई उद्घाटन गरेर कांग्रेसलाई नै गाली गरिरहेको छ । मेलम्चीमा हामीले सुरुङ छेड्दियौँ, कम्युनिस्टका मन्त्री गएर फोटो खिचाए । तर, पानी आउने कहिले हो कहिले । पोहोरको दशैँमा आउने भनेको अब अझैँ यस्ता कति दशैं जाने हुन् पत्तो छैन ।

सरकारको काम यही मेलम्चीलाई हेर्दा थाहा हुन्छ । सिन्डिकेट हटाउँछु भन्यो त्यो पनि जहाँको त्यहीँ । सडक हेर्नुभयो भने त्यस्तै, पिच भइसकेको छैन पाप्डा उप्किन थाल्छ । सरकार कुरा मात्रै ठूलो गर्ने काम नगर्ने । विदेशीले समेत त्यही भन्न थालिसके । चाइनिजले पनि भर्खरै नेपाली कुरा ठूला गर्छन् काम केही गर्दैनन् भने । रेल आउला कुनै दिनमा तर अहिले यत्रो हल्ला किन गर्नुपर्‍यो ? कुरा ठूलो गरेर हुन्छ ? 
अर्कातिर ०१७ साल ल्याउन खोजियो, प्रतिगमन फर्किन थाल्यो भनेर भन्ने, तर विपक्षी पार्टीलाई साथमा लिएर परिवर्तनलाई बचाउनेतिर प्रधानमन्त्रीको ध्यानै छैन । यो त हामी सबैको कर्तव्य हो । पक्षपात गर्ने, चिड्याउने, थिचोमिचो गर्ने, गुण्डा लगाएर कुटकुट गर्ने काम बन्द गर्नुपथ्र्यो । प्रधानमन्त्रीको जिम्मेवारी त देशलाई एकताबद्ध बनाउने हो । साच्चिकै संकट आएको हो र प्रतिगमन हुन थालेको हो भने कांग्रेससँग सल्लाह गर्नुपर्‍यो नि । यो त चिलले चल्ला लियो भनेर आकाशतिर हेर्न लगाएर खोरबाट माउ चोरेर लिने छट्टु स्यालको जस्तो कुरा हो ।

सरकारका यति धेरै कमजोरी देखाउनुहुन्छ । ती ठाउँमा आफ्ना कार्यकर्ता परिचालन गरेर सही दिशातर्फ डोर्‍याउने काम किन गर्नुहुन्न ?
यसमा पार्टीको कमजोरी छ । पार्टीभित्रको असहजताको एउटा कारणै यही हो । पार्टीबाट गर्नुपर्ने कुरा केही गरिएन, नगर्नुपर्ने धेरै गरियो । मैले त्यही भएरै पार्टीको महाधिवेशन तत्काल गरेर फेरि नयाँ जागरण ल्याऊँ भनेको हुँ । प्रतिपक्षको काम सरकराले जहाँजहाँ हलो जोत भन्यो त्यहीँ दुगुर्ने होइन । प्रतिपक्षले गर्ने रचनात्मक सहयोग भनेकै सरकारले गरेका गलत कामलाई औल्याइदिने, सावधानी गर्ने हो ।

प्रमुख प्रतिपक्षीको हिसाबले सरकार बाहिरका शक्तिसँग सहकार्य वा एकताको योजना बनाउनुभएको छ ?
यसको कुनै अर्थ छैन । चुनावको वेलामा गरेको हो नि । चुनावमा सहकार्य गरेर उनीहरूलाई जितायो, आफ्नो बदनाम मात्रै, कुनै परिणाम देखिएन । बाबुराम भट्टराईलाई हामीले गोरखामा समर्थन गर्‍यौँ, त्यहीँको अर्को ठाउँमा उहाँहरूले भोट नै हाल्नु भएन । हाम्रा भोट सबै अरूलाई गए तर अरूका आएनन् । अहिले बाबुरामजी नै कांग्रेसलाई कता घाटतिर गइसक्यो भनेर भन्दै हुनुहुनछ । हाम्रा सभापतिले भोलि प्रधानमन्त्री हुँदा सहयोग गर्लान् भन्ने देखेर हो कि के गर्नुभयो । तर, त्यो त्यत्ति स्वाभाविक भएन ।

नयाँ पत्रिका

Leave a Reply