Sunday, January 17, 2021
Home > mophosala > युवा, सामाजिक रुपान्तरणका सम्बाहक !

युवा, सामाजिक रुपान्तरणका सम्बाहक !

विभिन्न राष्ट्रले फरक–फरक उमेर समूहलाई युवा मानेपनि नेपालले जोस जाँगर र उमेरका हिशावले १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानेको छ । जोस जाँगर, साहस, सिर्जनसिलता, सिक्ने क्षमता र उच्च आत्म विश्वासका कारण यो वर्गलाई राष्ट्रनिर्माणको र सामाजिक रुपान्तरणको प्रमुख श्रोतका रुपमा लिइन्छ र सामाजिक रुपान्तरणको लागि संवाहक मानिन्छ ।

नेपालको कुल जनसंख्याको ४०.३० प्रतिशत युवा रहेका छन् । युवा वर्गलाई सामाजिक रुपान्तरणको मुख्य मेरुदण्ड बनाउन शिक्षित, सिपयुक्त, अनुशासीति र उद्यमशिल बनाउन सरकारको मुख्य जिम्मेवारी रहन्छ । यो समुहलाई भरपुर रुपमा देश निर्माण गर्नमा प्रेरित गर्न सकियो भने देशको विकास कायाकल्प नै हुनेछ । नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२, युवा दुरदृष्टि २०२५, राष्ट्रिय युवा परिषद समेत गठन गरेको छ तर, दुर्भाग्य उक्त नीति तथा कार्यक्रम भने प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । यसमा पनि राजनीतिक गन्ध देखिनमा आएको छ । र, केही युवाहरु यसका विषयमा अनविज्ञ नै छन् । यसको फाइदा केही केवल यस्ता युवाहरुले उठाएको देखिन्छ, जो चाकडीबाज, भजनबाजी, चाप्लुसी, नाताबादको फाइदा उठाईराख्ने, जो हिजो चन्दा असुली, हप्ता असुली गर्न पल्केका छन् । उद्यमशील, अनुशासीत र शिक्षित युवाहरु भने अनविज्ञ नै छन् ।

तसर्थ भविष्य तिम्रो पनि छ, हाम्रो पनि छ, तर अन्तिम भविष्य युवाको छ भन्ने कुरालाई मनन गरेर नेपालको युवा वर्गलाई विश्वव्यापी मुल्य, मान्यता र मापदण्ड अनुसार सांगठनिक ढाँचामा समय सापेक्ष सुधार गरी सरकारी तथा निजि क्षेत्रका बीच समन्वय, सहकार्य र साझेदारीको वातावरण सिर्जना गरी युवाहरुलाई नेतृत्व प्रदान गर्न समेत आजको आवस्यकता देखिन्छ । तर, यस तर्फ भने खासै नेतृत्वकर्ताको ध्यान जान सकेको छैन ।

यस उमेर समूहकाहरुलाई अनुसासीत, मर्यादित, सिर्जनशील, कर्मठ, उद्यमशील र लगनशील बनाउन सक्यौ भने भोलीको नेपाल सुन्दर नेपाल हुने आशा देखिन्छ । स्थानीय तह देखि नै युवाहरु राष्ट्रका पहरेदार हुन त्यसकारण युवाहरुलाई सम्बन्धीत युवाको रुची, क्षमता र स्वभावका आधारमा प्रशिक्षित गरी रचनात्मक ढंगबाट अगाडि बढाउन सकियो भने अरबमा खरब कमाउने भनेर जुन युवाहरुलाई श्रम सम्झौंता गरी विदेश पलायन गरी रेमिटान्सको आस गर्ने परिपाटी छ यसको अन्त हुने निश्चित छ । तर, दुर्भाग्य अरबमा खरब कमाउने भनेर श्रम सम्झौंता गरेर युवाहरुलाई सस्तो मुल्यमा श्रम बेच्न बाध्य बनाउछन हाम्रा बयोबृद्ध राजनीतिक नेतृत्व । उमेरकाटी सकेका अदक्ष बयोबृद्धहरुले विश्राम लिनको विकल्प छैन । किन भने २०७६÷७७ को बजेट मनतब्य हेरी बस्दा युवाका सम्बन्धमा दुईटा बुँदा उल्लेख गरेको छ । बजेट मनतब्यको पेज नं. २१ को बुँदा ८३ र ८४ मा छन् । यसले कुनै पनि युवा माझ आशा गर्न सकिने स्थिति देखिदैन । मानवीय सेवा, विपद् व्यवस्थापन र बृक्षारोपण गराउनमा युवा सहभागिता बढाउनु पर्छ भनेको छ बजेट मनतब्यमा । यस किसिमको हलुको नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण हुन सक्दैन । यस बजेटले अन्तराष्ट्रिय परिवेश अनुसार युवाहरुको क्षमता विकास गरी राष्ट्र निर्माणको अभियानमा नेतृत्वदायी भूमिका दिन सक्ने अब्बल दर्जाका युवा, सिर्जनशील युवा, कर्मठ युवा, उर्जावान युवा र युवाहरुमा भएको उर्जालाई अनुमोदन गर्न सक्ने प्रमाणित नीति तथा कार्यक्रम हुनु पथ्र्यो । तर, यो बजेट मनतब्यले समेट्न सकेको देखिदैन ।

यी बुँदा बजेट मनतब्य जस्ताका त्यस्तै:

विभिन्न राजनीतिक परिवर्तन चाहे २००७ साल होस्, २०४६, १० बर्षे जनयुद्ध तथा २०६२÷६३ को जन आन्दोलन यी सवै किसिमका सामाजिक आन्दोलनहरु युवा वर्ग सहभागिता उच्च देखिन्छ । युवाहरुका जोस जाँगर र उर्जाका कारण राजनीतिक परिवर्तन भएका छन् ।

विश्व परिवेशलाई पनि नियालेर हेर्ने हो भने पछिल्लो समय व्यापक चर्चामा रहेका ३२ बर्षीय किम जोङ उत्तर कोरीया जस्तो सानो मुलुकबाट चियाएर संसार हल्लाउदै छन् । भोलो डायमर ग्रोएजमेन ३३ वर्षको उमेरमा युक्रेनलाई विकासको गति दिएका छन् । ३९ बर्षिय इमानुएल म्याक्रोनले फ्रान्सको राष्ट्रपति भएर औद्योगिक क्रान्ति गरेर अझ देशलाई माथि उकासीरहेका छन् । मलेसियाका २५ बर्षिय युवा सइद सिद्दिकी रहमान ठिटाले युवा मन्त्रालय हाकिरहेका छन् ।

न त उनीहरुलाई लामो राजनीतिक अनुभव छ, न त जेल नेलको नै । तर, उनीहरुमा देशलाई समृद्ध बनाउने दृढ संकल्प, चाहना छ र भावना छ । यस कारण नेपालको परिप्रेक्षमा हेर्ने हो भने अग्रज पुस्ता राजनीतिक नेतृत्वमा पनि एकाधिकार खोजिरहदा नेतृत्व युवा पुस्तामा हस्तान्तरण हुन सकिरहेको छैन र देशले अपेक्षित लाभ लिन सकिरहेको छैन । पुरानो पुस्ताले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरी मिश्रीत नेतृत्वमा देशलाई अगाडि बढाउन सकियो भने बृद्धको प्रेरणा, धैर्यता र युवाको उर्जाले समाज रुपान्तरण हुनेछ ।

स्थानीय तह निर्वाचनले पनि केही अनुभव दिइरहेको छ । स्थानीय सरकारमा युवाहरुको उपस्थिति न्युन संख्यामा छ । पुरानो पुस्ता जसले २१ औं सताब्दीको युग संग लडीबुडी गर्न सक्दैन उनैले नेतृत्व पाएको छ । त्यसका कारण संघीयताको मर्म नवुझेकाले विवेकहीन तर्क दिने, मानवीय संसाधनको विकास तर्फ ध्यान नदिने, पारदर्शिता र सुसासनको बारेका अल्पज्ञानी भएर जेनतेन पाँच बर्ष पार लगाउनेमा देखिन्छन् । युवा जमात खाडी, अमेरिका, युरोप पलायनले स्थानीय तहले यो समस्या भोग्नु परेको हो ।

समुन्नत र समृद्ध राष्ट्रका लागि योगदान दिनुपर्ने युवा बेरोजगाार, अशिक्षा, आर्थिक अभाव, मानसिक तनाव जस्ता कारण देश विकासको मुल प्रवाहमा आउन सकिरहेका छैनन् । देशको मुल मेरुदण्ड युवा हुन । यीनलाई विकासको मुल प्रवाहिकरणमा सहभागिता, नेतृत्वमा सहभागिता, नीति योजना निर्माण र कार्यान्वयनमा युवा सहभागिता गर्न सक्यौं भने युवाहरुमा पुनरजागरण हुनेछ ।

पछिल्लो समय युवाको राजनीति प्रतिको चाँसो घटेको, नाक खुम्च्याउने प्रचलन बढेको छ । उत्पादनमुलक सभ्य सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणका लागि नेतृत्व पंतिबाट आश गर्ने ठाँउ छैन । नीति, बजेट कार्यक्रम हेर्दा देशको करिब ४० प्रतिशत युवा जमातलाई सम्बोधन गर्न सकेको छैन । बजेट मनतब्य, नीति तथा कार्यक्रम हेर्दा युवाहरुमा आश लाग्ने कुनै ठाँउ देखिदैन । जवसम्म उमेर काटिसकेका, बयोबृद्ध पंति नेतृत्वमा हुन्छन र यीनिहरुको सत्तामोह टुट्दैन तवसम्म राष्ट्र निर्माणको मुल प्रवाहमा युवा सहभागिता न्युन हुने देखिन्छ । त्यस कारण अव युवा जाग्नु पर्छ, बृद्धहरुको प्रेरणा र युवाको विवेकशील एवम् उर्जालाई मिश्रीत गरेर सुसासनको पैरवी गर्नुपर्छ, भष्टाचारीहरुलाई नङ्गयाउनु पर्छ, कुशासन गर्नेको पर्दाफास गर्नुपर्छ सामाजिक विकासमा सांगठनिक ढाँचा बनाएर एक भएर अगाडि बढ्नु पर्छ । हामी युवा जिम्मेवार हुनुपर्छ । यो राष्ट्रको द्रुत गतिमा विकास गर्न, संसारमा नेपालको उचाइ राख्न, राष्ट्रियताको संरक्षण गर्न युवा नेतृत्व जाग्नुपर्छ र सामाजिक रुपान्तरणमा युवा संवाहक हुन भनि प्रमाणित गर्नुपर्छ ।

(लेखक: नेपाली काँग्रेसका युवा नेता, तरुणदल बैतडीका जिल्ला उपाध्यक्ष हुन्)

Leave a Reply