काठमाडौं । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै देशभरका पत्रकारहरू हातमा कालोपट्टी बाँधेर काम गरिराखेका छन्।
पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघले आह्वान गरेको आन्दोलनअनुसार हातमा कालोपट्टी बाँधेर पत्रकारहरू बुधबार काम गरिराखेका हुन्।
सरकारले गत बिहीबार सदनमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक संविधानको मर्म र भावना अनुसार नभएको तथा सरोकारवाला पक्षसँग छलफल र सहमति वेगर नै ल्याइएको भन्दै पत्रकारहरू आन्दोलनमा उत्रिएका हुन्।
विधेयकमा कसैको मानमर्दन हुने गरी पत्रकारले समाचार लेखेमा १० लाखसम्म क्षतिपुर्ति भराउन सकिने उल्लेख भएकोमा पत्रकारहरुले त्यो सच्याउन विधेयक फिर्ता लिनुपर्ने बताएका हुन्।
सरकारले प्रेस काउन्सिलको सट्टामा मिडिया काउन्सिल बनाउन विधेयक ल्याएको हो। नौ सदस्यीय हुने उक्त मिडिया काउन्सिल सरकार नियन्त्रित संस्थाका रुपमा बनाउन लागेपछि पत्रकारहरु आन्दोलनमा छन्।