Monday, January 25, 2021
Home > mophosala > सरकार पत्रकारको कलम भाच्न चाहान्छ: सभापति देउवा

सरकार पत्रकारको कलम भाच्न चाहान्छ: सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भइरहेको उल्लेख गर्दै सरकारको चर्को आलोचना गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति समेत जनाए ।

आइतबार नेपाल पत्रकार महासंघ नेतृत्वको ज्ञापन पत्र बुझ्दै उनले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्नै नमिल्ने पनि स्पष्ट पारे ।

सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सदैव उभिएको दावी पनि गरे । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो पार्टी लडिरहने प्रतिवद्धता पनि जनाए ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले त्यसको विपक्षमा सोच्न पनि नसक्ने सभापति देउवाको भनाई छ ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने प्रतिबद्धता जनाए ।

महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवालाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

Leave a Reply