काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सरकारले ३८ किलो सुन आउने प्वाल टालिसकेको बताएकै भोलिपल्ट प्रहरीले रसुवाको टिमुरेबाट सात केजी अवैध सुन बरामद गरेको छ । प्रधानमन्त्रीले कम्युनिष्ट पार्टी स्थापनाको ७० औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सुन तस्करीका कारोबारीहरु आत्तिएको बताएका थिए ।
सरकारले संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखेको बताइरहँदा पछिल्ला महिनामा एकपछि अर्को अवैध सुन बरामदका घटनाहरु लगातार बाहिर आइरहेका छन्। मंगलबारको घटना त्यसैको पछिल्लो निरन्तरता हो। सोमबारमात्रै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एक वर्षे समीक्षा सुनाउने क्रममा संगठित सुन तस्करीविरुद्ध कुनै कसुर बाँकी नराखिएको बताएका थिए।
महानिरीक्षक खनालले यस्तो बताएकै भोलिपल्टै चीनबाट रसुवाको केरुङ नाका हुँदै भित्रिएको ७ केजी सुन प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको हो। प्रहरीले ८ वैशाखमा मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका एक भियतनामी र एक कम्बोडियन महिलाबाट तीन केजी अवैध सुन बरामद गरेको थियो।
प्रहरीले सोमबार मात्रै वर्ष २०७५ मा ७८ केजी ८ सय ७६ ग्राम अवैध सुन बरामद भएको बताएको थियो। ४५ करोड ४ लाख ६० हजार ६५ रुपैयाँ बराबरको सुन बरामद गरेको प्रहरीले सोही समयमा १ सय ३७ जनालाई सुन तस्करीमा संग्लन भएको आरोपमा प्रतिवादी बनाएको थियो। प्रधानमन्त्रीले संगठित सुन तस्करी रोक्न सरकारले सफल भएको बताइरहेकै महिनामा एक पछि अर्को अवैध सुन बरामदका घटनाहरु सार्वजनिक भइरहेका छन्।