Thursday, January 21, 2021
Home > साहित्य > माया फगत बानी हो

माया फगत बानी हो

रमेश भण्डारी

कसैले मानोस या नमानोस जीवन जिउन वा भनौं जिन्दगी कटाउन नभइ नहुने कुरा हो; माया। यसलाई कसरी परिभाषित गरिन्छ त्यो आफुमा निहित हुन्छ। केहिछिनको भेटघाटलाई पनि अति आत्मिय बनाउन सफल हुन्छ; माया। त्यसैले त सबैले भन्छन् यो संसार विश्वास रुपि आधार भएको मायामा टिकेको/ चलेको छ। यो यथार्थ पनि हो। बडो अचम्मको चिज रहेछ यो, कोहि मनुष्य छैन यस धरतीमा जो यो मायारुपी जञ्जालमा नफसेको होस्। भनिन्छ माया दुई आत्माबिचको मिलन हो, मनको समागम जहाँ हुन्छ, त्यहाँ आफैं माया भन्ने चिजको जन्म हुन्छ रे। माया;महत्त्वपूर्ण कुरा हो नै तर यो सधैं एउटै किसिमले एकैनाशको हुन्छ भन्ने हुँदैन। मायाको एउटा छुट्टै संसारमा रमाईरहेका हुन्छन् आजभोलिका प्रेमिल जोडिहरु। संगै साथ निभाउन संघर्ष पनि गरिरहेका हुन्छन् कति जोडिहरु अनि कोहिभने संगै जिउन नसके संगै मरेर भएपनी आफ्नो माया सफल देखाउन पछि नहट्ने कसम खाईरहेका हुन्छ्न्। ओहो, कति शक्तिशाली छ है यो माया; एउटाको जिन्दगीसंग अर्कोको अस्तित्व जोड्ने अनि संगै जिउने मर्ने कसम खाने तर के यो माया प्रेमी प्रेमिकामा मात्र निहित रहन्छ त? यो माया यतिमात्रमा सिमित हुन्छ त? कदापि हुँदैन तर अफसोच संसारमा सबैभन्दा बढी प्रयोग भइरहेको शव्द माया केवल प्रेमी प्रेमिका बिच मात्र हुन्छ भन्ने भ्रममा फसेको छ अहिलेको युवापुस्ता। आजभोलिकै युवापुस्ताको कुरा गरौं न; न सबै प्रेम सफल छ्न् न त सबै प्रेमी। प्रेममा परेर धेरैको बिछोड पनि त भएको छ।

अधिकांस जोडिहरु सफल छैनन् अहिले। हुन त जोडिहरुको कुरा गर्दा सबैभन्दा अगाडि मस्तिष्कमा आउने नाम मुना मदन कै हो। यदि माया नै सबैथोक थियो भने मुनालाई छाडेर मदन पक्कै पनि लासा जानुपर्ने थिएन होला। हामी यहीँनेर चुक्छौं आजपनी, तिमी मेरो सर्बोपरी हौं भन्ने फगत एउटा जन्जालमा रुमल्लिरहेका छौँ हामी। समय गतिशील छ अनि हामी परिवर्तनशिल। माया न पहिले लुक्थ्यो, न अहिले लुक्छ न त भोलि नै लुक्ने छ। कुरा आयो असफल प्रेमको, बिछोड अनि वियोग सबैभन्दा गाह्रो अवस्था हो। एक-अर्कासंग बिताएका रमाईला पल, मायामा सागर तर्ने अनि तारा झार्ने गफहरु, सातौ जन्म संगै जिउने मर्ने कसमहरुले त्यसबखत मस्तिष्कमा गर्ने हमला अमेरिकाले हिरोसिमा र नागासाकीमा गरेको आक्रमण सरह नै हुन्छ। जसले सम्झनको निम्ति धेरै यादहरु छोडेर गएको हुन्छ त्यो यादको भुमरीबाट बाहिर निस्कन पक्कै केही समय लाग्छ नै। तिनै यादहरुलाई बिर्सने क्रममा जीवनमा अरुसंग पनि नजिक भइन्छ। कोहि याद बिर्साउने माध्यम बन्छ्न त कोहि जिन्दगी बिताउने। बिस्तारै त्यो यादको कुहिरोबाट बाहिर आउदाँ कोहि निकै आत्मीय भइसक्छ्न।

अनि त्यही मायारुपी चक्र फेरि सुरु हुन्छ। प्रेमी परिवर्तन हुन्छन् तर एउटा आमाको आफ्नो सन्तानप्रतिको माया, दाजुले बहिनीलाई गर्ने माया, बाबुको स्नेह अनि सधैं छायाँसरि हिड्नेँ परिवारको माया परिवर्तन हुँदैन। एउटा सच्चा देशभक्तले आफ्नो माटोलाई गर्ने माया परिवर्तन हुँदैन जुनकुरा अहिलेको युवापुस्ताले बुझ्नु जरुरी छ। प्रेमी प्रेमिकाको नाममा मर्न पछाडी नहट्ने हामिले कहिल्यै बिचार गरेका छौँ हामी मर्दा हाम्रो परिवारले के गुमाउछँ। पति बित्दा पत्नीलाई या पत्नी बित्दा पतिलाई हुने पीडा र आमा-बुवा अनि दाजु बहिनिलाई हुने पीडा नितान्त अलग कुरा हुन्। पत्निको यादमा केही समय पिडामा परेपनी उसले उनलाई भुलाउन त्यति समय लाग्दैन तर एउटि आमाले आफ्ना सन्तान गुमाउदाँ उनले जिन्दगीभर ती कुरा बिर्सन सक्दिनन्, हो यहाँ छ माया। आफ्ना सबै सपनाको बलिदान दिएर दिनरात दुख गरेर हामिलाई खुसी राख्न हरदम संघर्षरत पिताको त्यागमा छ माया। कतै टाढा जादाँ गहभरी आँसु पार्ने अनि भाईटिकामा दाजुभाईको बाटो हेर्ने दिदिबहिनीको माया हामिले देख्दैनौ तर उसको एउटा आँसु झारेको स्टिकरमा हामिले दर्साउछौं माया। अहिलेको अधिकाँस युवापुस्ताले बुझ्ने माया प्रेमी प्रेमिकाको मात्र हो। जुन समयसंगै परिवर्तन भइरहन्छ। आज एउटा प्रेमी, भोलि अर्को।एकपटक यादरुपी जालोबाट उम्किन गाह्रो हो, त्यसपछि त माया नै माया। यस्तै तरिकाले हो माया जस्तो पवित्र शव्दको बदनाम भएको। अहिलेको युवापुस्ताहरुमा माया भनेको त बानी भइसक्यो। त्यसैले, हाम्रोलागि माया त फगत बानी मात्र हो।। कान नजिकै अचानक एउटा गित घन्कियो,” हेरिन्जेलको सम्झना छुटेपछी बिर्सना, जिन्दगानी दर्पण छायाँ।”

-लेखक रमेश भण्डारी वन बिज्ञान अध्ययन संस्थान हेडौडामा स्नातक तहमा अध्ययनरत छन

केशब खड्का
खड्काले मकवानपुरबाट पलपल खबरका लागी मुलधारका न्युज लेख्ने गर्छन

Leave a Reply