५ वैशाख, हेटौंडा । मकवानपुरमा २ सवारीसाधनमाथि आगजनी भएको छ । थाहा नगर र भीमफेदी गाउँपालिकामा अज्ञात समूहले दुई सवारीमा आगजनी गरेको हो ।
मकवानपुरको उत्तरी क्षेत्र पालुङबाट कुखुरा बोकेर हेटौंडातर्फ आउँदै गरेको ना २ च ९०९४ नम्बरको गाडी थाहा नगरपालिका–४ स्थित पानारो रिसोर्ट अगाडि रोकेर आगजनी गरेको प्रहरीले जनाएको छ । तीन जनाको संख्यामा रहेका व्यक्तिहरुले गुडिरहेको गाडी रोकेर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
त्यस्तै, भिमफेदी गाउँपालिका–९ मा तरकारी बोक्ने ना ४ ख ७९०६ नम्बरको अर्को गाडीमा पनि आगजनी भएको छ । क्षतिको विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर -८ वडा कार्यालय भवन अगाडि प्रेसरकुकर बम फेला परेको छ । वडा कार्यालयको गेट अगाडि प्रेसरकुकर राखिएको छ । प्रहरी घटनास्थल पुगेको छ ।
बजार सुनसान हुनुका साथै यातयातका लामो रुटका सवारीसाधनहरु चलेका छैनन ।