बारा । नेपाली कांग्रेस प्रभावशाली युवा नेताहरु रञ्जित कर्ण र भुपेन्द्रजंग शाही स्वास्थ्य शिविर सहित हुरी प्रभावित क्षेत्र बारा र पर्सा पुगेका छन् ।
शुक्रबार खाद्यन्न लगाएत लत्ता कपडा, कम्मल लगाएतका घरायसी जिन्सी सामाग्रीहरु समेत उनीहरुले हुरी पीडितहरुलाई राहत स्वरुप बितरण गरेका छन् ।
शुक्रबारदेखि सञ्चालन भएको स्वास्थ्य शिविर शनिबार पनि दिनभर गरी दुई दिन सम्म सञ्चालन गर्ने नेविसंघ पूर्व अध्यक्ष समेत रहेका कर्णले बताए । उनले भने, ‘दुई दिनमा सवै पीडितहरुको स्वास्थ्य परिक्षण गरि यहाँ उपचार सम्भव नहुनेहरुलाई राजधानीको सुविधा सम्पन्न अस्पतालमा लगेर थप उपचारको प्रवन्ध मिलाउने छौँ, त्यसको जिम्मेवारी हामी लिन्छौँ ।’
यता नेपाल तरुण दलका महासचिव समेत रहेका कांग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले स्वास्थ्य शिविरले पीडितहरुको दुःखमा थोरै भएपनि मदत पुग्ने बताए ।
उनले भने, ‘प्रत्यक्ष घटना स्थलमा पुग्दा यो अनुभुती भो कि वास्तवमा हामी नेपालीमा सेवाको भावना, सद्भाव र सहयोगी मन प्रशंसानीय छ ।’ उनले पीडितहरुलाई चाँडोभन्दा चाँडो गाँसबास र कपासमा ग्यारेन्टि गर्न समेत सरकारसंग आग्रह गरे ।
गर्मी महिना झन बढिरहेकाले जस्तो सुकै रोगलेपनि आक्रमण गर्न सक्ने भएकाले त्यसले महामारीको रुपमा फैलनुभन्दा पहिले नै सरकारले ध्यान दिनुपर्ने शाहीले बताए ।
राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रममा तरुण नेताहरु क्षितिज भण्डारी, दिपेन्द्र भट्ट, लोकेश सिंह, सचेन्द्र मोहन दाहाल र सुर्य ढकाल लगाएतका नेताहरु सभागी छन् ।