Sunday, January 24, 2021
Home > mophosala > एउटै गाउँपालिकामा राहत केन्द्रित, अन्य क्षेत्रमा पीडितको बिचल्ली

एउटै गाउँपालिकामा राहत केन्द्रित, अन्य क्षेत्रमा पीडितको बिचल्ली

बारा । जिल्लाको महागढीमाई नगरपालिका, सुवर्ण र देवताल गाउँपालिकामा हावाहुरीपीडित स्थानीयले ४ दिन बितिसक्दा पनि सरकारी र गैरसरकारी निकायबाट राहत सहयोग प्राप्त गर्न सकेका छैनन् ।

हुरी प्रभावित क्षेत्रका लागि भनेर सरकारी र निजी क्षेत्रले वितरण थालेको राहत फेटा गाउँपालिकामा मात्र केन्द्रित भएपछि अन्य क्षेत्रका बासिन्दा थप बिचल्लीमा परेका छन् । राहतको अपेक्षामा बसेका पीडितले कतैबाट पनि सहयोग प्र्राप्त गर्न नसकेपछि उपेक्षाको महसुस गर्न थालेका छन् ।

फेटासँग सीमा जोडिएको देवतालको रामपुर्वा, सुवर्णको पर्शुरामपुर, हर्दिया, बगही र जमुनिया, महागढीमाईको तेलगाई टोलमा हुरीले धनजनको ठूलो नोक्सानी पु¥याएको छ । आइतबार आएको हुरीबतासबाट सुवर्ण र महागढीमाईमा गरी ३ जनाको ज्यान गएको र यस क्षेत्रमा पक्कीसहित ७ सय घर भत्किएको बारा क्षेत्र नम्बर २ बाट संघीय संसद्का सदस्य रामसहाय यादवले जानकारी दिनुभयो । उहाँले अन्य निकायबाट राहत र सहयोगमा चासो नदेखाइपछि पीडित स्थानीय थप बिचल्लीमा परेको पनि सुनाउनुभयो ।

उहाँले बारम्बारको अनुरोधपछि बुधबार दिउँसोबाट जिल्ला प्र्रशासन कार्यालय र केही निजी क्षेत्रबाट पनि राहत आउने क्रम शुरु भएको तर पर्याप्त नभएको बताउनुभयो । सुवर्ण गाउँपालिका–४ का ३२ वर्षीया रजिया खातुन, ७० वर्षीय श्रीप्रसाद यादव र महागढी नगरपालिका तेलगाईका ७२ वर्षीया कैलीदेवी यादवको ज्यान गएको छ । २ गम्भीरसहित घाइतेको संख्या यो क्षेत्रमा पनि ३ सयभन्दा बढी छ । सुवर्णका दुई गम्भीरको गम्भीर अवस्थामै काठमाडौंमा थप उपचार भइरहेको छ ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पनि अहिलेसम्म गाउँमा कतैबाट पनि राहत÷सहयोग नआएको बताउनुहुन्छ । राहत अभावमा स्थानीयले खाने सामग्री र बस्ने स्थानको समस्या बेहोर्नु परेको उहाँले बताउनुभयो । ‘गाउँपालिकाले नजिकैको विद्यालयमा राखेर पीडितलाई २ छाक खाना र रात बिताउने व्यवस्था गरेको छ’, अध्यक्ष यादवले भन्नुभयो– ‘बाहिरको सहयोग पाइएको छैन ।’

संघीय सांसद तथा संघीय समाजवादी फोरम नेपालका महासचिव समेत रहेका रामसहायप्रसाद यादवले सबैको ध्यान फेटामा मात्र रहेकोले अन्य क्षेत्रका पीडित ओझेलमा परेको बताउनुभयो । मंगलबार दिउँसो उपचारको क्र्रममा थप एक बालकको मृत्युपछि फेटामा हुरीबतासको वितण्डाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । ‘सबैको ध्यान एकातर्फमा गएको छ’, उहाँले भन्नुभयो– ‘मानवीय क्षति कम भए पनि घरगोठ र धनमालको हिसाबले अन्य क्षेत्रमा फेटाको पुरैनिया र भलुहिभर्वोलियाको भन्दा बढी क्षति भएको छ ।’ उहाँले फेटाबाहेक अन्य हुरी प्रभावित क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश मुख्यमन्त्री लालबाबु राउतले पनि बेवास्ता गरेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री र संघीय सरकारका अन्य मन्त्री त आएनन् आएनन्, मुख्यमन्त्रीले पनि आउँछु भनेर ढाँटनुभयो’ –उहाँको भनाइ थियो ।

आफ्नो बस्तीमा सान्त्वनासम्म पनि दिन कोही नआएकोमा हुरीका कारण श्रीमती गुमाएका महागढीका नपाका ८५ वर्षीय जगदीशप्रसाद यादवसँग ठुलो दुखेसो छ । ‘गाउँको सडकबाट राहत बोकेका गाडी हुइँकिन्छन्’, उहाँले भन्नुभयो– ‘बस्तीमाथिको आकासबाट हेलिकोप्टर पनि उड्छ तर हेर्दै नहेरी सबै उतै हुइँकिन्छन ।’

यसैबीच विध्वंशकारी हुरीले भएका भौतिक क्षतिको विरण सरोकारवालाले अझै संकलन गर्न सकेको छैन् । सरोकारवाला निकाय स्थानीय तह, प्रशासन, प्रहरी र विषयगत कार्यालयले विवरण संकलन गर्न नसक्दा अझै पनि क्षति यकिन हुन सकेको छैन । किसानको बालीनाली, घरभित्रको अन्नपात, भौतिक सामाग्री, भवनको भौतिक संरचना, नगद, गरगहना वा अन्य सम्पत्तिलगायत विद्युतको पोल तार, ट्रान्सफरमर, सार्वजनिक भवन समेत गरी जिल्लामा अर्बौंको क्षति भएको अनुमान गरिएको छ ।

सरकारी कार्यालयहरुबीच समन्वय र कर्मचारीको सक्रियता अभावमा यस्तो स्थिति आएको बताइएको छ । ‘स्थानीय तह, विषयगत कार्यालयलगायतलाई राखेर क्षतिको विवरण संकलन गर्ने बारेमा सम्बन्धित निकायले अहिलेसम्म कुनै निर्देशन नगरेको एक सरकारी अधिकारीले बताउनुभयो । नेपाल समाचार पत्र

Leave a Reply