Tuesday, January 19, 2021
Home > mophosala > ओझेलमा किरात प्रदेश ; मोति चाम्लिङ

ओझेलमा किरात प्रदेश ; मोति चाम्लिङ

पहिचान सहितको संघियतामा नेता र कनिष्ठ राजनीति दलहरुका चासो केवल बेमौसमी बाजा मात्र सावित भएको छ। यसो हुनुको प्रमुख कारण एकल पहिचानमा आजसम्म रमाउन सिकेका अधिनायकवादी सोंच र उनिहरुको बहुपहिचानप्रतीको उदासिनता पनि हो।

बहुपहिचानका मुद्दाहरुलाई निस्तेज पार्न भयानक षडयन्त्रहरु एकपछी अर्को झेली किचलो सिर्जना गरिदिएर, छिनाझप्टिको वातावरण तयार गरेर बिचैमा समाप्त पार्ने घातक कदम एकल पहिचानवादिहरुले अचुक अस्त्रको रुपमा फ्यांकिदिएका छन् ।

पहिचानवादीहरुको अदूरदर्सिता, असमझदारी, अतिकायवादी असमन्वय र दिर्घकालिन समाधानका लागि अस्पष्ट कमजोरिले पनि अब पहिचानमा आधारित प्रदेशहरुको नामांकन असम्भवप्राय बन्दै गएको छ।

सबैभन्दा बढी पहिचानको आधारमा प्रदेश नामांकन हुने संभावना बोकेको प्रदेश नम्बर १ मा अधिक षडयन्त्र भरहेको थियो। अब भने षडयन्त्रकारिहरुको बिजय सुनिश्चित जस्तै देखिएको छ।

किरात प्रदेश र सिंगो लिम्बुवान प्रदेशको दाविले थला परेको पुर्वान्चलमा प्रदेश नामाकरण अब करिव दुवै पक्षले फुत्काउने स्थितिमा गुज्रीन पुगेका छन्। लिम्बू, राई, सुनुवार र याक्खा समुदायले आफूलाई किरात समुदायको छातामुनी रहेको स्विकारोक्ती ब्यक्त गर्दै आएको भएपनी पछिल्लो समयमा लिम्बूजातिले आफूलाई किरात होइन भनी अलग्गिएपछी किरात नाम साझा प्रदेशको रुपमा अस्विकार गरिएको हो ।

यसमा सबैभन्दा ठूलो भुमिका अन्तर्राष्ट्रिय लिम्बू युमा सम्मेलन धरानले स्थापित गरिदियो। पूर्व कुलपती बैरागी काइलाको उद्घोष र युमा परम्परावादी लिम्बुहरुले किरात शब्द र समुदायबाट सधैको लागि अलग भएको घोषणा गर्नुले किरात प्रदेशको साझा अवधारणा पूर्ववत रहन सकेन। आखिर किन यसो गरियो वा यस्तो कदम चालियो? यसको उत्तर पाउन उत्ति गाह्रो पनि छैन र अस्वभाविक पनि लाग्दैन।

लिम्बू समुदाय किरात समुदायहरुमा निकै मजबूद र भाषिक एकता बृहत्तर कायम भएको समुदाय हो । भूगोल,संस्कार संस्कृतिमा ऐतिहासिक अन्वेषण र अनुसन्धान तिब्र पार्दै आइरहेको समुदाय भएकोले पनि आफ्नो एकल संप्रभुता महसुस हुन नसक्ने अरु कुनै नामलाई अस्विकार गर्ने नीति लिएको देखिन्छ। बृहत याक्थुङ एकिकृत भाषा, इमानसिं चेम्जोङ्द्वारा अन्वेशण गरिएको सिरिजंघा लिपि र लिम्बू भाषा बिकाससंगै फक्रीरहेको बहुआयामिक साहित्य दर्शनले लिम्बुवान प्रदेशको लागि लिम्बू समुदायको बिश्वासमा उचाइ थपेको हो भन्दा अत्युक्ती छैन।

अन्यौल र त्राश:-

प्रथम प्रादेशिक संसदले यदि प्रदेश नम्बर १ किरात प्रदेश घोषणा गरिहालेको खण्डमा लिम्बुवान प्रदेशको माग र आन्दोलन पूर्णरुपेण ओझेलमा पर्न सक्ने संभावनाको त्राशले अर्को जटिल भुमिका खेलेको देखिन्छ। पूर्व लिम्बुवानका जानकार र प्रौढ प्राज्ञ भनि सबैले सम्मान गरेको ब्यक्तित्व बैरागी काइला स्वयंले पनि किरातको कारण लिम्बुवान गुम्न सक्ने मनोबिज्ञानमा स्पष्टोक्ती र आफ्नो आखिरी अभिमत उजागर गर्न पुगेका छन् ।

लिम्बुवानका एक मुर्धन्य धरोहरले देखाएको बाटोमा समुदायका अन्य जनमानस प्रभावित भएर अघि नबढ्ने कुरै आएन। अनेकन बाहना र कारणहरु सिर्जना गरेर किरातलाई अस्विकार गर्नुभन्दा सिङ्गो लिम्बू समुदाय नै किरात होइनन भन्ने पुष्ट्याइलाई सार्वजानिक गर्न सके सर्प मर्ने र लठ्ठी पनि सग्लो नै रहने रणनितिका प्रवर्तक पनि स्वयं बैरागी काइला नै हुन् ।

सायद आफ्ना समुदायका लागि उनले ठिकै गरेका हुनसक्छ। परन्तु वहांको यस कदमले साझा किरात प्रदेशको अवधारणामा आकांक्षा र महत्वाकांक्षाको सर्लक्कै न्युनिकरण भएको चाहिँ एक अनदेखा सच्चाई नै हो। जय नेपाल।
तुङचुङ लान्ताउ
हङकङ।

Leave a Reply