Saturday, January 16, 2021
Home > special_one > विप्लवलाई विश्वासमा लिई आफ्ना नेतृत्वको योग्यता प्रस्तुत गर्न सरकारलाई कांग्रेसको आग्रह

विप्लवलाई विश्वासमा लिई आफ्ना नेतृत्वको योग्यता प्रस्तुत गर्न सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सबै खाले विमतिको समाधान राजनैतिक संवादको माध्यमबाट खोज्न सकिने र शान्ति, सहमति एवं सहकार्यको मार्गबाट मात्रै मुलुकको समग्र प्रगति हुने पार्टीको धारणा सार्वजनिक गरेको छ ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत केहि समययता देशका विभिन्न स्थानमा भइरहेका हिंसात्मक घटना र त्यसको समाधानका लागि सरकारले अघि बढाएको कदमबारे पार्टीको धारणा स्पष्ट पारेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हत्या, हिंसा र चन्दा आतङ्कको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन सार्वजनिक अपिल गरेका छन् ।

नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो, तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न । अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न कांग्रेस सरकारलाई आग्रह गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

दशक लामो हिंसात्मक विद्रोहको शान्तिपूर्ण निकास खोज्न मुलुकले ऐतिहासिक सफलता हासिल गरेको र त्यसको मूल नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै उनले आजको मितिमा हिंसात्मक विद्रोहमा गएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान भित्रैबाट विश्वासमा लिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र यसको नेतृत्वलाई पहल गर्न अपिल गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘निषेधले होइन वार्ताले समाधान’ अभिव्यक्त गरिसकेको र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘विद्रोहीलाई विश्वासमा लिन सत्तारूढ दल नेकपा नेतृत्वलाई विशेष योग्यता प्रस्तुत गर्न’ अपिल गरिसकेको विज्ञप्तिमा जनाइएको छ ।

Leave a Reply