Monday, January 18, 2021
Home > mophosala > सरकारबाट लोकतन्त्रमाथि हमला भयो: कांग्रेस शीर्ष नेता

सरकारबाट लोकतन्त्रमाथि हमला भयो: कांग्रेस शीर्ष नेता

कामाडाै‌ । वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गरेको कांग्रेसले आरोप लगाएको छ । नयाँ शक्ति पार्टी रसुवा कार्यसमिति कांग्रेसमा विलय भएपछि आयोजित सभालाई सोमबार सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइरालालगायतले सरकार बहुलवादी व्यवस्था नियन्त्रण गर्न उद्यत रहेको बताएका हुन् ।

‘संविधानले ग्यारेन्टी गरेको बहुलवादी व्यवस्था नियन्त्रण गर्न खोजिएको छ,’ कांग्रेस सभापति देउवाले भने, ‘कम्युनिस्ट सरकार छ, प्रधानमन्त्री जथाभावी बोलिरहेका छन् । लेख्न पाउने, बोल्न पाउने अधिकारमाथि साइबर क्राइमका नाममा हस्तक्षेप भएको छ ।’ प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षासम्बन्धी विधेयकमा पनि जबर्जस्ती गरेको देउवाले आरोप लगाए । उनले प्रेस र वाक् स्वतन्त्रता हनन भएको कांग्रेसले नसहने स्पष्ट पारे । ‘पञ्चायतका वेलामा पनि यस्तै भएको थियो । हामी सहनेवाला छैनौँ । अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेस संघर्ष गर्न तयार छ,’ उनले भने ।

बम पड्किन थाल्यो, शान्तिसुरक्षा खोइ : पौडेल
कांग्रेस वरिष्ठ नेता पौडेलले एनसेलका टावरमा भएको पछिल्लो बम हमलाबारे सरकारको आलोचना गरे । ‘हिंसाबाट राजनीति सुरु गरेका केपी ओली, प्रचण्डहरूलाई मैले राष्ट्रपतिनिवासमा हालसालै भनेको छु कि सर्पको खुट्टा सर्पले देख्छ । राजनीतिक नेतृत्वले प्रहरीलाई पक्राउ गर्न निर्देशन नदिने, देशभरि हिंसा हुने यो के हो ? भोलि हिंसा बढ्दै जाँदा कहाँसम्म पुग्ला,’ उनले भने ।

पौडेलले डा. बाबुराम भट्टराईलाई कांग्रेस प्रवेश गर्न सांकेतिक आग्रह गरे । ‘बाबुराम भट्टराईजी पनि दौरा–सुरुवालमा ठाँटिनुभएको छ । प्रधानमन्त्री हुँदा लाउनुभएन । बाँच्न त प्रजातन्त्र नै चाहिने रहेछ भन्ने उहाँलाई पनि लाग्या होलाजस्तो मलाई लागिरहेको छ,’ उनले भने । पौडेलले अब कम्युनिस्टको नेतृत्वमा समृद्धि हासिल नहुने दाबी गरे । ‘माक्र्सका सूत्र घोकेर, लेनिनका सूत्र घोकेर, माओका कविता भनेर समृद्धि हुँदैन । यी सबै नक्कली कुरा हुन्,’ उनले भने ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति देउवाले सबैलाई समेटे आउँदो निर्वाचनमा कांग्रेस एक नम्बर हुने बताए । ‘हामीमा एकता भयो भने, जो जहाँ मिले पनि फरक पर्दैन । अर्को चुनावमा कांग्रेसले बहुमत ल्याउँछ,’ उनले भने ।  कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले कम्युनिस्ट पार्टीका नेतालाई मात्र समृद्धि आएको, तर जनतालाई समृद्धि नआएको आरोप लगाए । उनले प्रधानमन्त्रीलाई कमेडियन कलाकारले गर्ने काम गर्न थालेको भन्दै आलोचना गरे ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दुईतिहाइ बहुमत पाएको सरकारले एक वर्षको समयमा मुलुकको विकासमा केही काम गर्न नसकेको आरोप लगाए । उनले एनसेलमाथि बम आक्रमण गर्नेहरूमाथि कारबाही गर्न सरकारसँग माग गरे । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री गगन थापाले एक वर्षमा सरकार संविधान कार्यान्वयन, सुशासनमा चुकेको आरोप लगाए । पाएको अधिकारको सीमा गुमाएर सरकारले प्रजातन्त्रको हक खोसेको उनको भनाइ थियो । ‘संघीयता मासियो भने धेरै चिज मासिनेवाला छ । प्रधानमन्त्रीको सपनामा जनता छैनन्,’ थापाले भने ।

सांसद पद सुरक्षित भएपछि मात्रै तामाङ कांग्रेस प्रवेश गर्ने
नयाँ शक्ति रसुवाको जिल्ला समितिका सबै सदस्य तथा भ्रातृ संगठनको जिल्ला समिति सोमबारदेखि औपचारिक रूपमा कांग्रेसमा विलय भएको छ । नयाँ शक्तिका संयोजक फुर्पुवाङ्दी तामाङ नेतृत्वमा कांग्रेसमा एकता भएको हो । कांग्रेस रसुवाका सांसद मोहन आचार्यको प्रयासमा नयाँ शक्तिको जिल्ला समिति कांग्रेसमा विलय भएको हो । प्रदेश ३ मा नयाँ शक्तिका सदस्य प्रेम तामाङ प्रवेश गर्ने अन्तिम तयारी रोकिएको छ । कांग्रेस प्रवेश गर्दा प्रदेश सभाको सदस्य पद रहने वा नरहने स्पष्ट कानुनी ग्यारेन्टी नभएकाले तामाङ पछि हटेको बुझिएको छ । उनी सांसद पद सुरक्षित भएपछि मात्रै कांग्रेस प्रवेश गर्ने भएका छन् । नयाँ पत्रिका

Leave a Reply