Thursday, January 21, 2021
Home > special_four > नेपाली कांग्रेस र हिन्दु एजेण्डा

नेपाली कांग्रेस र हिन्दु एजेण्डा

नेपाली कांग्रेसको नेतृत्वमा संबैधानिक लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यसो किन हो भने, गणतन्त्रसम्मको गन्तब्यलाई सार्थकता दिनुहुने गिरिजाबाबु नेपाली कांग्रेसका तत्कालिन सभापती हुन् ।

गणतन्त्रसम्मको यात्रा तय गरिंदा यसलाई संस्थागत गराउने संबिधान निर्माण गरि संसदमा पेश गर्न दुईवटा संविधान सभाका लागि अकूत सम्पत्ती खर्च गर्नुपर्यो देशले । त्यो ब्ययभार कतिभयो त्यो नेपालकै अर्थविधहरुलाई राम्रैसंग थाहा होला ।

बल्लतल्ल संविधान लेखियो तर घोषणा गर्न पनि ठुलै सकस पर्यो । घोषणा गर्न पनि कांग्रेसकै तत्कालिन सभापती सुशीलदाको अग्रसरतालाई कसैले भुल्न सक्तैन । संविधान त बन्यो, घोषणा त भयो तर कार्यन्वयन गर्नेहेतु दोस्रो संविधान सभालाई बिघठन गरि नयाँ जनादेशका निम्ति चुनाव गर्नै पर्ने भो र नेपाली कांग्रेसकै नेतृत्वमा ताजा जनादेश हेतु ऐतिहासिक संघीय संसद र प्रादेसीक संसद्को निर्बाचन शेरबहादुर देउवाले सम्पन्न गराए ।

गणतन्त्र सम्मको यात्रामा इतिहासमा अंकित महत्वपूर्ण अभियानका नायकहरु नेपाली कांग्रेसकै सभापतिहरुको नाम संयोग र परिस्थितिले स्थापित भएको छ । सरसर्ती हेर्दा नेपाली कांग्रेसको इतिहास खोटपूर्ण भएतापनि हरेक लोकतान्त्रिक आन्दोलनको निष्कर्ष मोडमा देश र जनताका निम्ति महत्वपूर्ण भुमिका निर्वाह गरेको राजनीतक दल हो ।

अहिलेको प्रचलित संबिधानको बिशेषता गन्दै जाँदा बुंदागत रुपमा धेरैवटा हुन सक्छन्, जस्तो कि परम्परागत राजपरम्पराको आडमा राजाबाट भैरहेका पटके धोका र हस्तक्षेपको अन्त्य । धार्मीक एकाधिकारको अन्त्य । सबै जनताले सबै खाले धर्मको बराबरी उपभोग गर्न पाउने स्वतन्त्रता ।

२०४६ सम्म सबै नेपालीले बिवश भएर सरकारी कामकाजी परिपत्रमा या धर्मको महलमा हिन्दु लेख्नै पर्ने बाध्यताले आजित बनेकाहरु धर्म्निरपेक्षताका असिम प्यासी थिए ।

जब संबिधानमा धर्मनिरपेक्ष लेखिसकेपछी ती बन्दी मानसिकताहरुले उन्मुक्ती प्राप्त गरेको महसुस गरेका छन् । अनेकौं बिबिधतामा उनिएको नेपाल धार्मिक बिबिधतामा पनि उनिएकै हो। जुन देशमा जनताहरु बिबिध धर्म मान्छन् त्यो देशमा कुनै एक धर्म मात्रको उल्लेख गरेर अक्षरस हिन्दु राष्ट्र नेपाल भनिकन संबिधानमा सर्बोच्चता कायम गर्नु लोकतान्त्रीक पद्वती हुनै सक्तैन। लोकतन्त्र भन्नाले त मुलुकका सर्वांगिण क्षेत्रमा स्वतन्त्रताको ग्यारेन्टी गर्नु हो ।

निर्मित संबिधानमा, लिखित संबिधानमा ती स्वतन्त्रताका स्पष्ट लेखन हुन जरुरी हुन्छ र व्याख्या पनि । लोकतन्त्र रहर पनि होइन बाध्यता पनि होइन। लोकतन्त्र सामाजिक ब्यवस्था बिकाश चरमोत्कर्षको अनिवार्य आवश्यकता हो ।

लोकतन्त्रको परिभाषामा धार्मिक स्वतन्त्रता अपरिहार्य शर्त हो। धार्मिक स्वतन्त्रताको अकाट्य शर्त चाहिँ फेरि धर्म निरपेक्षता हो । कुनै पनि समाज या राज्यमा जब धार्मिक अंकुश लगाउने कुचेष्टा गरिन्छ त्यहां निभाउनै नसकिने सामाजिक बिद्रोहको बिध्वंशकारि आगो सल्किन्छ । यस्तो बिकराल परिश्थिती निम्त्याउने संभावनाको अन्त्य गर्नकै लागि पनि नेपालमा धर्म्निरपेक्षताको खांचो थियो र त्यो पूरा भएको छ ।

अवका उप्रान्त नेपालमा राजतन्त्र फर्किएपनी धर्म सापेक्षता कायम हुन सक्तैन । शासक जोसुकै आउन सक्लान तर धार्मिक आस्थामा लगाम कस्न असंभव छ ।

लोकतन्त्रको हिमायती नेपाली कांग्रेसभित्र अहिले हिन्दु सापेक्षता र सर्बोच्चताको बिषय प्रवेश गराउने धुन्दुकारीहरुले लोकतन्त्रको परिभाषा नै नबुझिकन हिन्दु राष्ट्र भनी कराएका हून कि बुझेरै यस्तो दक्षिणपन्थी धारणा ल्याएका हुन् ? बुझिनसक्नु छ । के गर्न खोज्या हुन् र लोकतन्त्रको परिभाषालाई कसरी अर्थ्याउन खोज्या हुन् अन्दाज लाइनसक्नु छ।

नेपाली कांग्रेसले हिन्दु राष्ट्रको एजेण्डा पारित गरि आफ्नो लक्ष्याभिमुख यात्राको शुरुवात गर्यो भने गंभिर त्रुटि हुनेछ र व्यापक ध्रुबिकरणको कारण बन्नेछ। पूर्व राजावादि मण्डली र राप्रपा सहितको हिन्दुवादी कांग्रेसिहरुको एउटा शक्ति कायम हुनेछ ।

त्यसभित्र अट्न नसकेका या धार्मिक स्वतन्त्रताका पक्षधर धर्म्निरपेक्षवादिहरुले सैद्वान्तिक सम्झौता गरि नेकपामा आवद्द हुन बाध्य हुनेछन् । यो ध्रुविकरण चाहनाको नभएर बिवशताको हुनेछ ।

यदि नेपाली कांग्रेशका बहुमत नेतृत्व पक्षले यस्तै चाहना राखेका हुन भने पनि हिन्दु राष्ट्रको एजेण्डा पास गरे हुन्छ। सकेसम्म शिघ्रातिशिघ्र ध्रुबिकरण भैदिए मुलुकको राजनितीले तिब्र मोड लिएर सबै कार्यकर्ताले अन्यौलको दासताबाट मुक्ती पाउनेछन् । एक किसिमले यो सर्व्हितैषु पनि हुन सक्छ । जय नेपाल !

Leave a Reply