Sunday, January 17, 2021
Home > special_four > किन अलपत्र पारिदै छ, निर्माणाधीन पाटन पञ्चेश्वर सडक ?

किन अलपत्र पारिदै छ, निर्माणाधीन पाटन पञ्चेश्वर सडक ?

विस २०३५ सालमा सुरु भएको पाटन–पञ्चेश्वर सडक राष्ट्रिय गौरवको योजना हो । पाटन–पञ्चेश्वर सडक पञ्चेश्वर बहुउद्देशीय आयोजनाको ड्याम स्थलसम्म पुग्ने सडक हो । आयोजनासम्म जोड्नका लागि सो सडकको अवधारणा ल्याइएको हो । आज करिव ४० वर्ष वितिसक्दा पनि यो सडक निर्माण कार्य अधुरो छ ।

तल्लो स्वराडका मेलौली, शिवनाथ, पञ्चेश्वरका जनताहरुले पटकपटक आन्दोलन गर्दा बल्लतल्ल ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम (ड्रिलिप), आरसीआइ डब्लु र सडक डिभिजन बैतडीले टुक्राटुक्रा गरी सडक खन्ने काम गरेको थियो । तर, आर सिआइ डब्लुले भने सम्झौता बमोजिम काम नगरी निर्माण कार्यबाट हात झिक्यो ।

विभिन्न आरोह र अवरोध विच लामो समयसम्म अलपत्र पारिएको सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आपूm मन्त्री हुँदा पाटन–पञ्चेश्वर सडक खण्डमा करिब ६५ करोड रुपैयाँ विनियोजन गरी ठेक्का आह्वान गरिएको थियो । सडक निर्माण कार्य तीव्र गतिमा भइरहेको थियो । तर, संघीयतापछि तीन तहका सरकार बनेपछि नेपालको गौरवको पञ्चेश्वर आयोजनासम्म जोडिने सडक पाटन–पञ्चेश्वर केन्द्रीय मापदण्डबाट हटाएर प्रदेश सरकार मातहत राखिएको छ । निर्माणाधीन सडकका बारेमा आगामी कार्य रोकतोक आदेश आएको छ । बोलपत्र आह्वान गरी ठेक्काको सम्झौता भइसकेपछि निर्माणाधीन चरणमा हुँदा निर्माण कार्यलाई प्रभावित गरी काम रोक आदेशले तल्लो स्वराडका स्थानीयबासीमा निरासा छाएको छ र ठूलो षड्यन्त्रका साथ प्रदेश सरकार मातहत हुन्छ भनी नयाँ चलखेल सुरु भएको छ ।

केन्द्रीय महत्वकोे योजनाभित्र पर्नु पर्ने थुप्रै सूचकलाई यो सडक खण्डमा कुनै अपुगता छैन । तर, निर्माणाधीन सडकलाई निरन्तर अगाडि बढाउनुको विकल्प नहुँदा किन यो नामेट गरी काम रोक आदेश भयो ? थुप्रै प्रश्नहरु उब्जिएका छन् । आखिर कहिलेसम्म यसरी झुक्याइन्छ । सधैं राज्यको सौतेली व्यवहार खेपिरहेको तल्लो स्वराडका जनतालाई सडक बन्नेमा झिनो आशा बोकेका थिए र काम द्रुत गतिमा चलिरहेको थियो । तर, अहिले आएर सम्पूर्ण काम लथालिङ्ग भताभङ्ग भएको छ ।

केन्द्रिय मातहत रहेको सो सडक निर्माण योजना अहिले आएर कामकाज तत्काल अगाडि नबढाउने भनी निर्माण व्यवसायीलाई पत्राचार गरिएको छ । करिब ३२ करोड बराबरको रकम भुक्तानी भइसकेको र बांकि करोडौं रुपैयाँको भुक्तानी हुन बांकि रहेको छ । अलपत्र अवस्थामा काम तत्काल बन्द गरिएकोमा तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँँपालिकाका सर्वसाधारणमा निराशा छाएको छ । यस प्रकारले पाटन–पञ्चेश्वर सडक खण्ड अलपत्र पारिनुले कार्यशैली र सौतेली व्यवहार माथि गम्भीर प्रश्न खडा भएको छ ।

के हो पाटन पञ्चेश्वर सडक ?

बैतडीको पाटनदेखि पञ्चेश्वर सडक पञ्चेश्वर आयोजनाको ड्याम स्थलसम्म पुग्ने सडक हो । यो सडक करिब ६५ किलोमिटर रहेको छ । यो सडक खण्डले बैतडी जिल्लाको तल्लो स्वराडको ठूलो भू–भागलाई ओगटेको छ । नेपाल–भारत सीमा नदी महाकालीको पञ्चेश्वरमा बन्ने आयोजना स्थलसम्म सडक पु¥याउने उद्देश्यले सडक निर्माण कार्य सुरु भएको हो । स्थानीय कला संस्कृति, चाडपर्व, प्राकृतिक सौन्यर्दताले यस क्षेत्रको धार्मिक पर्यटनको महत्व राख्दछ । मुद्राको दृष्टिकोणले नुनदेखि खाद्यान्न खरिद बिक्री वितरण तथा आर्थिक कारोबारका क्षेत्रमा भारतीय मुद्रा नै चलन चल्तीमा छ ।

अझै त्यहाँका केही मानिस नेपाली रुपैयाँ चिन्दैनन् । अहिलेको संरचना अनुसार पाटन–पञ्चेश्वर सडक खण्डमा पर्ने पाटन नगरपालिका, मेलौली नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाले जिल्लाको जनसंख्या र भुभागको दृष्टिकोणले ठूलो हिस्सा लिएको छ । यस क्षेत्रमा थुप्रै महत्वपूर्ण मठमन्दिरहरु रहेका छन् । यस सडक निर्माणले पर्यटन व्यवसाय र यहाँ उत्पादीत तरकारी, फलफुल विक्रि वितरण गरी कृषि व्यापार पनि फस्टाउने देखिन्छ । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि सदियौं देखि २०÷२५ कोषको पैदल यात्रा गरेर जिल्ला सदरमुकाम तथा मजदुरीका लागि छिमेकी राष्ट्र भारत तर्फ जानका लागि जटिल यात्रा गरेका स्वराडबासीका लागि अझैं षड्यन्त्र शुरु भएको छ ।

के हो पञ्चेश्वर बहुउद्देशीय आयोजनाः¬–

वि.सं. २०५२ सालमा नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभिनरसिंह रावले भएका बेला एकीकृत महाकाली सन्धि भएको थियोे । यस सन्धिमा ६ हजार चार सय असी मेगावाट विद्युत उत्पादन हुने पञ्चेश्वर बहुउद्देशीय आयोजना बनाउन दुई देशीय सम्झौता भएको हो । सन्धिमा पानी आधी आधी, विद्युत आदी आदी लागत आदी आदीको सम्झौता भएको हो ।
यसले नेपालका तर्फ मात्र ११५ बर्ग किमि भु–भाग ओगट्ने सर्वेक्षणले बताएको छ । उक्त आयोजनाबाट करिब २५८ हेक्टर जमिन डुबानमा पर्छ । करिब ५५–६० अरब रुपैयाँ वार्षिक रुपमा आम्दानी हुने यो आयोजना निर्माणले हुने क्षति भन्दा कयौं गुना लाभांश छ । यसमा नेपालका तर्फबाट लाग्ने लागत, मुआब्जा लगायतका खर्चहरु २÷३ वर्षमै असुल हुने तथ्यांकले देखाएको छ । यो नेपालका लागि गौरवको योजना हो ।
एकीकृत महाकाली सन्धि अन्तर्गत नेपालले सन् १९९५ मा आफ्नो तर्फबाट पहिलो डिपिआर निर्माण गरेको थियो । करिब २४ वर्ष वितिसक्दा पनि आयोजना अलपत्र अवस्थामा छ ।

नेपालमा जलविद्युत् विकास गर्नका लागि केही विगतको अस्थिर राजनीतिका कारण बन्न सकेन र यो मात्रै पूर्ण तर्क होइन यो देशको जलविद्युतको विकास हुन नदिनका लागि हरियो डलरको खेती गर्नेहरुका कारण यो आयोजना बन्न नसकेको विज्ञहरुको धारणा छ ।
अहिले पञ्चेश्वर आयोजना अन्तर्गत नेपाल र भारतबाट पञ्चेश्वर विकास प्राधिकरणका रुपमा सुस्त गतिमा काम भइरहेको छ ।

यो आयोजना बन्यो भने यो देश आर्थिक रुपमा समृद्ध हुने र कायापलट नै हुने सम्भावना छ । यसबाट उत्पादन हुने विद्युत्, सिँचाइ, जलाशय भित्र हुने माछापालन, पर्यटकीय आगमनले हाम्रो देशमा पैंसाको खोलो बग्ने थियो । निर्माण पश्चात् दातालाई हार गुहार गर्ने दिन जान्थे ।
यो आयोजनाले देशको मुहार नै फेरिने निश्चत छ । तर, किन चुकेको छ नेपाल । यसमा थुप्रै प्रश्न उब्जन सक्छन–राजनीतिक अस्थिरता मात्रै प्रमुख कारण हो ? डलरको खेती गर्नेहरुको रणनीति हो अथवा भारतको मनसाय नभएको हो ? अथवा नेपाल नै तयार भएको होइन ? यी प्रश्नहरुका बिच रहेको पञ्चेश्वर आयोजनामा अहिले ध्यान केन्द्रित हुनु जरुरी छ ।

हाम्रो देशको मुख्य आम्दानीको श्रोत भनेको जलविद्युत् उत्पादन नै हो । शान्तिका लागि सम्वृद्धि चाहिन्छ, सम्वृद्धिका लागि विकास चाहिन्छ, विकासको पहिलो पूर्वाधार जलश्रोतबाट उत्पादन हुने उर्जा चाहिन्छ । त्यसकारण निश्कर्षमा भन्नु पर्दा पाटन–पञ्चेश्वर सडक खण्ड र पञ्चेश्वर बहुउद्देशीय योजना एक आपसमा अन्तरसम्बन्धीत योजना हुन ।

सम्बृद्धिको यात्रामा पाटन पञ्चेश्वर सडकलाई राष्ट्रिय महत्व र गौरबको योजनामा राखी तत्काल काम सुचारु गर्न आवस्यक छ । यसमा सवैको भलो हुनेछ र समृद्धीको सपना पुरा हुनेछ । यी गौरवशाली आयोजनाहरु माथि चलखेल गर्ने र नामेट गरेर कसैको भलो हुन सक्दैन । यस तर्फ सरकारको ध्यान केन्द्रित हुनु पर्दछ । नत्र भने उखानको पसल खोलेर समृद्धीको भजन गाउनु बाहेक काम छैन यो सरकारको ।

लेखकः नेपाल तरुण दल बैतडीका जिल्ला उपाध्यक्ष हुन् ।
(मो.नं. ९८६५६३८१९६)

Leave a Reply