Tuesday, January 19, 2021
Home > mophosala > नेकपा: कार्यदलमा चरम विवाद फरक प्रतिवेदन लैजाने चेतावनी

नेकपा: कार्यदलमा चरम विवाद फरक प्रतिवेदन लैजाने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकताको गृहकार्य गर्न गठित कार्यदलका सदस्यहरुले प्रतिवदेनमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।

सचिवालय बैठकले ‘जे जस्तो अवस्थामा छ, प्रतिवेदन बुझाउनू’ भनेपछि संयोजक रामबहादुर थापा बादलले बिहीबार कार्यदलको बैठक बोलाएका थिए । बादलले प्रतिवेदन बुझाउने प्रस्ताव गरे तर, वर्षमान पुन, सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतका सदस्यहरुले प्रतिवेदनमा हस्ताक्षर गर्न मानेनन् ।

कार्यदललाई असफल भएको देखाउन खोजिएको भन्दै नेताहरुले स्थायी कमिटीमा फरक प्रतिवेदन लैजाने चेतावनी दिएको एक सदस्यले जानकारी दिएका छन् ।

प्रदेश कमिटी गठनको निर्णय फेरबदल गर्नेनगर्ने विषयमा विवाद भएपछि कार्यदलल निष्क्रिय जस्तै थियो । कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल प्रदेश कमिटी चलाउन तयार छैनन् । उनीहरुलाई शंकर पोखरेल र रघुवीर महासेठको साथ छ ।

तर, माधव नेपाल निकट मानिएका नेताहरुले प्रदेश कमिटी गठन सच्याउनुपर्ने अडान लिएका छन् । उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश इन्चार्ज बनाउनु मापदण्ड विपरित भएकाले सच्याउनुपर्ने मत राख्दै आएका छन् ।

लामो समय मौन जस्तो देखिएका वर्षमान पुन र लेखराज भट्टले पनि बिहीबार भने कार्यदल असफल भएको प्रतिवेदनमा हस्ताक्षर नगर्ने धारणा राखेका छन् ।

Leave a Reply