Saturday, January 16, 2021
Home > special_four > कम्युनिष्टलाई अधिनायकवादी भनेको ओलीले सहन सक्दैनन् !

कम्युनिष्टलाई अधिनायकवादी भनेको ओलीले सहन सक्दैनन् !

समृद्ध नेपाल, सुखी नेपालीको केपी शर्मा ओलीको सपना साकार तुल्याउन विदेशी लगानी भित्राउनु पर्ने र त्यसका निम्ति आगामी चैतमा विदेशी लगानी आकर्षित गर्न लागानीकर्ताहरुको वृहत् सम्मेलन काठमाडौंमा हुन लागेको परिप्रेक्षमा त्यसका लागि आवश्यक पृष्ठभूमि तयार पार्न वल्र्ड इकोनोमिक फोरमको डावोस सम्मेलनलाई प्रयोग गर्ने प्रयास नराम्ररी विफल भएपछि उत्पन्न आक्रोश, डावोस र जुरिचमा मात्र पोखेर नपुगेर काठमाडौंमा पनि छताछुल्ल हुनथालेको छ ।

वल्र्ड इकोनोमिक फोरम, नेपालजस्ता गरीव देशका निम्ति आयोजित हुने गर्दैन, भएको पनि होइन । गरीव तथा भिक्षापात्र बोकेर माग्न आउनेहरुको त्यहाँ कुनै कामै हुँदैन । त्यो त विश्वका आर्थिक क्रियाकलापमा प्रभाव पार्नसक्ने ठूला साइजका शक्ति राष्ट्रका सरकार प्रमुखहरुले वर्षको एक पटक जम्मा हुने क्लव हो । निश्चय नै, जम्मा भएपछि उनीहरुले विश्वको आर्थिक गतिविधिको समीक्षा गर्नु स्वभाविकै हो ।

विश्वका शक्तिशाली देशमा उत्पादनको अवस्था, माग र आपूर्तिको समस्या र त्यसलाई संतुलित तुल्याइराख्न चाहिने बजार रणनीतिमाथि छलफल गर्ने र निर्णय लिने फोरम हो त्यो, जसले विश्व बजारमा आएका र आउने उतारचढावका सन्दर्भमा चाल्नु पर्ने कदममाथि विचार गर्न उनीहरु प्रतिवर्ष भेट गर्छन् र छलफल गर्दछन् । केही वर्षदेखि उनीहरुले साना तथा गरीव देशलाई उपेक्षित गरेको आरोप छल्न र आफ्नो सम्पन्नता तथा वैभवले सिर्जना गरेको तडकभडक देखाउन पर्यवेक्षकका रुपमा उनीहरुलाई पनि बोलाउने गरेका छन् । तर उनीहरुलाई मूल समारोहमा सम्मिलित हुने प्रतिनिधिका रुपमा होइन, साक्षी बसिदिने पर्यवेक्षकका रुपमा प्रतिनिधि पठाउन आमन्त्रित गर्ने गरेका छन् । त्यसको नाम र कामले नै भारेभुरे बात… भन्ने जनाउँछ ।

व्यवहारमा पनि त्यही देखिएकै छ । धनीहरुको वर्गीय स्वभाव हुन्छ, धनको तुजुक देखाउने तर नदेखाएकोजस्तो गरेर । त्यसैले उनीहरुले फोरमको वार्षिक बैठकका नाममा बोलाइएका पर्यवेक्षकहरुलाई व्यस्त राख्न विभिन्न शीर्षकमा समानान्तर कार्यक्रमको आयोजना गरिदिएका हुन्छन्, जसमा आइएनजीओ टाइपका विभिन्न संस्था तथा अनेक देशका बुद्धिजीवीहरुलाई संलग्न तुल्याइएको हुन्छ । त्यसका माध्यमबाट गरीव तथा विपन्न देशका प्रतिनिधिलाई पनि बोल्ने मञ्च प्रदान गर्ने गर्दछन् । त्यसैमा नेपालका प्रधानमन्त्री ओली झुक्किएपछि झोक्किन पुगेका हुन् । उनले यसअघिका प्रधानमन्त्रीहरु किन नगएका होलान् भन्ने हेक्का राखेका भए आफैं हुस्सु हुने थिएनन् । …पछि दैलो देखेर के गर्ने ?

उनलाई झोक चलेको मुख्य विषय नै विषयान्तर भएर मात्र पनि होइन । विषयान्तर त भएकै हो, त्यो विषय थियो, आर्थिक फोरमसंग सम्वन्ध नै नभएका बेग्लै विषयमा दुई समूहका कार्यक्रममा भाग लिन र बोल्न लगाएकोमा । उनलाई नेपालका पदाधिकारीहरुले वल्र्ड इकोनोमिक फोरमकै बैठकमा सम्वोधन गर्ने अवसर मिल्नेछ भनेर लगेका थिए । तर त्यहाँ पुगेपछि थाहा भयो, उनले सम्वोधन गर्ने मञ्च भनेको गैरसरकारी आइएनजीओजस्तो समूह मात्र रहेछ ।

विषय पनि विश्व अर्थतन्त्रसित कुनै सम्वन्ध र सरोकार नभएको थियो । उनलाई बोल्न दिइएको विषय थियो– (१) दक्षिण एशियाको रणनीतिक दृष्टिकोण र (२) प्रजातन्त्रको भविष्यको स्वरुप । भनिरहनै पर्दैन, दुवै विषय आर्थिक पक्षसंग सम्वन्धित थिएनन् । ती विषय त उनी आफैंमाथि व्यंग गर्न समावेश गरिएका जस्ता थिए । त्यसकारण मात्र पनि उनलाई झोक चलेको होइन । साना देशका नेतालाई ठूला तथा शक्तिशाली देशका नेताले समान व्यवहारको स्वाङ मात्र गर्छन् । साँच्चै समानताको व्यवहार गर्दैनन् । हेप्नसम्म हेप्छन् । त्यो उनले आफ्नो लामो राजनीतिक जीवनमा अनुभव गरेकै विषय थियो । त्यसले मात्र पनि उनको माथा ठन्केको होइन ।

उनलाई झोक चलेको मुख्य कारण थियो– कम्युनिष्ट भनेर अपमान र अपहेलना गरेको घटना । फोरममा भाग लिन आएका प्रजातान्त्रिक देशका नेताहरुले जननिर्वाचित प्रधानमन्त्री ओलीलाई प्रजातान्त्रिक नेता मान्नै इन्कार गरेको नितान्त पूर्वाग्रही व्यवहारको घटनाले उनलाई झोक चलेको हो । उनलाई डावोस जाने रहर जागेकै नेपालका जनताले निर्वाचित गरेका प्रधानमन्त्रीका रुपमा आदर र सम्मान आर्जन गर्ने प्रलोभनले डो¥याएर हो । त्यसैमा तुषारापात भएपछि उनलाइै झोक किन नचलोस् ? त्यत्ति ठूलो दलबलसहित डावोस पुगेका उनलाई व्यर्थै आइएछ भनेर थकथक लाग्नेगरि अपमानित गरेपछि झोंकचल्नु अस्वभाविक होइन ।

संसारबाट कम्युनिष्ट हराउँदै गएका बेला नेपालमा चुनाव जितेकामा स्यावासी पाउनु त कता हो कता, नेपालका कांग्रेसका नेतालेजस्तै उनीहरुले पनि कम्युनिष्ट अधिनायकवादी भनेर तिरस्कार गरेको कसरी सहने ? चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भनेजस्तो भयो । नेपालको नयाँ संविधान अनुसार संसदमा दुई तिहाई बहुमत ल्याएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षलाई प्रजातन्त्रवादी नमान्ने विश्वका घमण्डी प्रजातन्त्रवादी नेतालाई नेपालमाजस्तो आफूले देखाई दिने भन्न पनि नहुने, सहेर बस्न पनि नसकिने ! ओलीलाई पर्नु पिर परेको कारण त्यही हो । उनले न्वारानदेखिको बल निकालेर स्पष्टिकरण दिए– हामी अधिनायकवादी होइनौं, प्रजातन्त्रवादी हौं भनेर । तैपनि उनीहरुले पत्याएनन् । उनीहरु त कम्युनिष्ट भनेका सिद्धान्ततः अधिनायकवादी नै हुन्छन् भनेको भन्यै गर्दारहेछन् बा ! कस्ता नकचरा !

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीलाई झोक चलेको अर्को कारण थियो, काठमाडौस्थित अमेरिकालगायत पश्चिमा देशका राजदूतले गठवन्धन गरेर कम्युनिष्ट नेताहरुको घेरावन्दी गर्ने दुस्प्रयास र तिनका नेताले उनीहरुकै रिपोर्टमाथि विश्वास गरेर नेपाल सरकारमाथि गरेको अविश्वास थियो । त्यसको विरोधमा नेपाल सरकारले पठाएको नोटमाथि ध्यान नदिएर उनीहरुले गरेको रिपोर्टिङका आधारमा उनीहरुका सरकारका आधिकारिक प्रतिनिधिले आपत्ति प्रकट गरेका घटनाबाट उनी थप उत्तेजित भएका थिए ।

१२ बुँदे दिल्ली सम्झौता गराउने भारतले पश्चिमी मुलुकहरुसंग समन्वय गरेर जे जस्ता सल्लाह र सुझाव दिएको हो, त्यसको सेमिकोलोन र कमा पनि फरक नपारि द्वन्द्वका पीडित र पीडकका बारेमा व्यवस्थापन गर्न आयोग बनाएको र अहिले ऐन पनि निर्माण गर्ने क्रममा रहेको यथार्थलाई बिर्सेर त्यसको राम्रो व्यवस्थापन नभएको र पीडितहरुले न्याय पाउन ढीला भएको गुनासो गर्नु उनीहरुको हैकमवादी प्रवृत्तिको नाङ्गो उदाहरण हो । त्यो प्रक्रियालाई छिटो–छरितो गरे माओवादी चिढिने, नगर्दा युरोपेली भड्किने । माओवादीले पार्टी फुटाएर सरकार गिराइदिने डर, युरोपेलीले आतंकवादी घोषित गरिदिएर कम्युनिष्टलाई युरोप छिर्नै नदिने भय ! जेठी माग्छे पानी, कान्छी माग्छे घाम, म बुढी कतातिर जाम, भनेजस्तो भएपछि ओलीलाई झोक चल्ने नै भयो ।

द्वन्द्वकालका सबै अपराधीलाई विस्मृति र क्षमा दिनेगरि विधेयक मस्यौदा भइरहेको सूचना पाएका युरोपेली देशका सरकारले काठमाडौंका राजदूतहरुलाई परिचालित गरेको र उनीहरुले राजदूतहरुको गठवन्धन गरेर आफ्ना देशका सरकारलाई कसरी प्रभावित पारेका रहेछन्, त्यसको प्रत्यक्ष अनुभव गरेपछि आफ्नो सरकार आफैं घेरामा परेको बोधले उनलाई थप उत्तेजित तुल्याएको बुझ्न अतिरिक्त प्रयास लगाउनु परेन ।

कम्युनिष्टर नेताहरु पश्चिमा देशमा जो जहाँ भेटिन्छन्, त्यसले त्यही पक्राउ पर्नुपर्ने चेतावनी प्रधानमन्त्र िओलीलाई दिएको घटनाले पनि उनी आगो भएका थिए । उनले हुने र सक्ने भए पश्चिमा देशसंग सम्वन्ध तोड्ने र उनीहरुका कुटनीतिक नियोगका अधिकारीहरलाई देश निकाला गर्ने थिए । तर के गर्नु, रिस रह्यो आफूसित भाउजू सहिन दाजुसित भएर पो केही नलागेको । अनि उनलाई झोक चल्दैन त ?

Leave a Reply