काठमाडौँ । प्रधानमन्त्री केपी ओली आइतबार विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक सभामा भाग लिन स्विट्जरल्यान्ड प्रस्थान गर्दै छन् । २२ देखि २५ जनवरीसम्म स्विट्जरल्यान्डको डाभोसमा हुने मञ्चको सभामा प्रधानमन्त्री सहभागी हुनेछन् । विश्वभरका सरकार प्रमुख तथा निजी क्षेत्रका प्रमुखहरू सहभागी हुने मञ्चको वार्षिक सभामा सहभागी हुने ओली नेपालका पहिलो प्रधानमन्त्री हुनेछन् ।
प्रधानमन्त्रीले भ्रमणका क्रममा भियतनामलगायत मुलुकका सरकार तथा राष्ट्र प्रमुखसँग द्विपक्षीय वार्तासमेत गर्ने प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा। राजन भट्टराईले बताए । त्यस्तै, विश्वका ठूला कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, विश्वविख्यात मिडियासँग अन्तरक्रिया र छफलफलसमेत हुने उनको भनाइ छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री डा। युवराज खतिवडा पनि हुनेछन् । प्रधानमन्त्री २६ जनवरीमा स्वदेश फर्कने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
छलफलका मुख्य विषय
विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा यसपटक विश्वव्यापीकरणको अझ राम्रो संस्करण कसरी निर्माण गर्ने भन्ने विषयमा छलफल हुनेछ । कार्यक्रमको मुख्य विषयवस्तु ‘चौथो चरणको विश्वव्यापीकरण स् चौथो औद्योगिक क्रान्तिको युगमा विश्वको आर्किटेक्चर निर्माण’ छ । ‘विश्वव्यापी सहयोग तथा सहकार्यमा अहिले ठूलो दबाब छ, विश्वव्यापीकरण असफल भयो भनेर मानिसले ठूलो निराशा प्रकट गरिरहेका वेला छलफलको यो विषय तय गरिएको हो,’ फोरमले भनेको छ ।
मूलतः ६ वटा बृहत् विषयवस्तु बहुअवधारणायुक्त विश्वमा भूराजनीति, अर्थतन्त्रको भविष्य, औद्योगिक प्रणाली तथा प्रविधि नीति, प्रणालीगत सोच प्रवद्र्धनका लागि जोखिमको लचकता, मानवपुँजी र समाज, विश्वव्यापी संस्थागत सुधारमा छलफल केन्द्रित हुनेछ ।