Tuesday, January 19, 2021
Home > mophosala > जेब्राक्रसमा बाटो काटिरहेका पैदल यात्रीलाई माइक्रोले ठक्कर दिँदा एकको मृत्यु ४ घाइते

जेब्राक्रसमा बाटो काटिरहेका पैदल यात्रीलाई माइक्रोले ठक्कर दिँदा एकको मृत्यु ४ घाइते

काठमाडौं । काठमाडौंको सामाखुशी चोक नजिक जेब्राक्रसमा बाटो काटिरहेका व्यक्तिहरुलाई माइक्रो बसले ठक्कर दिँदा एक जनाको मृत्यु र ४ जना घाइते भयका छन् ।

महागनगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) फडिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा धुम्बाराहीकी ६० वर्षीया सीता दाहाल छिन् । घटनालगत्तै गम्भीर घाइते भएकी उनलाई नजिकैको अल नेपाल अस्पताल लगिएको थियो तर बाटैमा उनको मृत्यु भएको प्रसाईंले  बताए ।

घटनामा खोटाङकी १९ वर्षीय सपना राई, काटेश्वरका ५३ वर्षीय सुशील अधिकारी, ५० वर्षीया सरिता अधिकारी र धुम्बाराहीका ३५ वर्षीया लक्ष्मी सापकोटा घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते मध्ये लक्ष्मीको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको अल नेपाल अस्पतालमै उपचार भइरहेको छ ।ठक्कर दिने माइक्रो र चालक प्रहरीको नियन्त्रणमा छन् ।

घटनामा घाइते भएका सुशिल अधिकारीले जेब्रा क्रसमा पनि हुत्याएर माइक्रो ल्याउँदा दुर्घटना भएको बयान दिएका छन् । उनले प्रहरी अधिकारीहरुसँग भनेका छन्, ‘हामी बाटो काट्न लागेका थियौं । एउटा बस आयो । त्यो कटेपछि क्रस गर्दै थियौं । एक्कासि माइक्रो हुत्तिएर आयो ।

प्रहरीले घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । हाल ठक्कर दिने माइक्रो र चालक प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा छन् ।

Leave a Reply