Saturday, January 16, 2021
Home > mophosala > नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लिय शपथ आजै सर्वोच्च अदालत पुगेर पदभार पनि ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले लिय शपथ आजै सर्वोच्च अदालत पुगेर पदभार पनि ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले शपथ लिएका छन् । शितल निवासमा बुधबार बिहान एक समारोहबीच जबराले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनी मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले अनुमोदित भएका थिए । सुनुवाइका क्रममा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले न्यायसम्पादनका क्रममा सौतेनी आमाको हकअधिकार, वैदेशिकरोजगार, जग्गाको अधिकार, पर्वतारोहणको प्रामाणिकता विवाद र जबर्जस्ती करणी अभियोगमा हदम्याद बढाउने विषयमा आफूले विधिशास्त्रीय मान्यता स्थापित गरेको दाबीसमेत गरेका छन ।

प्रधानन्यायाधीश जबराले आजै सर्वोच्च अदालत पुगेर पदभार पनि ग्रहण गरेका छन । २०१४ मंसिर २८ गते जन्मेका जबरा २०३६ मंसिर ६ देखि कानुन व्यवसायमा प्रवेश गरेका हुन ।

२०३९ सालदेखि २०४९ सम्म तत्कालीन काठमाडौं नगरपञ्चायतको कानुनी सल्लाहकार रहेका जबरा २०५२ को चैत मसान्तसम्म कानुन व्यवसायमा सक्रिय थिए । त्यसपछि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएका थिए ।

पुनरावेदन तहमा रहँदा ४ हजार ५ सय मुद्दा फैसला गरेका उनले २०७१ जेठ १३ गते सर्वोच्चमा न्यायाधीश भएपछि हालसम्म ६ हजार ४३८ मुद्दा फस्र्याेट गरिसकेका छन ।

Leave a Reply