Monday, January 25, 2021
Home > mophosala > कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकार संग कांग्रेसकाे माग

कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकार संग कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेसले कर्मचारी समायोजन अध्यादेश तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । शुक्रबारको संसद बैठकमा कांग्रेस सांसद गगन थापाले अध्यादेश फिर्ता लिएर तत्काल संघ प्रदेश र स्थानीय तहको निजामती सेवा ऐन ल्याउन आग्रह गरे ।

कर्मचारीको समस्या सुल्झाउन कांग्रेसले सरकारलाई सहयोग गर्ने भन्दै उनले संसदमा ऐन पारित गर्न रातारात काम गर्न तयार रहेको बताए । अध्यादेश फिर्ता लिएर जानोस् तत्काल तीनै तहको ऐन ल्याउनोस् उनले भने संसदमा रातारात काम गरौं कर्मचारीको समस्या समाधान गर्ने कुरामा सरकारसँग मिलेर काम गर्ने प्रस्ताव राख्छौं ।

कर्मचारी समायोजन अध्यादेशले एकैपटक सेवा प्रवेश गरेका कर्मचारीमध्ये कसैलाई मुख्यसचिवसम्म हुने बाटो दिएको र कसैलाई प्रदेश र स्थानीय तहकै खुम्चिनुपर्ने बाध्यता सिर्जना गरेको थापाले बताए । एक जना सेवा निवृत्त हुन लागेका सचिव र केही वरिष्ठ कर्मचारीको स्वार्थमा अध्यादेश आएको भन्दै थापाले यसलाई फिर्ता लिनुपर्ने बताएका हुन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयन नगर्ने भएपछि सरकारले संघीय निजामती सेवा ऐन प्रदेश र स्थानीय निजामती सेवा ऐन ल्याएको भए अहिलेको समस्या नआउने भन्दै थापाले सरकार उल्टो बाटो हिँडेको आरोप लगाए । सरकारलाई सुल्टो बाटो हिँडाउने जिम्मा प्रधानमन्त्रीको भए पनि उनी काम गर्न भन्दा बोल्नेमात्रै गरेको थापाको भनाइ छ ।

Leave a Reply