Friday, January 15, 2021
Home > mophosala > मेलम्चिकाे पानिखाने काठमान्डाै बासिकाे सपनामा फेरि कुठारापात

मेलम्चिकाे पानिखाने काठमान्डाै बासिकाे सपनामा फेरि कुठारापात

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको निर्माणमा पछिल्लो समय विवाद उत्पन्न भएपछि सरकारले परामर्शदाता कम्पनी इप्टिसालाई मेलम्ची आयोजनाको सुरुङको प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार गरी एक हप्ताभित्र पेश गर्न निर्देशन दिएको छ । खानेपानी मन्त्रालयले जारी गरेको वक्तव्यमा सो कुरा उल्लेख छ ।

इटालीको ठेकेदार कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनालाई करिब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएकोमा केही दिन अघि उनीहरु भाग्ने तयारी गरेपछि सरकारले ८ जनाको राहदानी खोसेको थियो । आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका बेला ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधिहरू काम छाडेर हिँड्न लागेपछि सरकारले सो कदम चालेको जनाइएको छ ।

सो सम्बन्धी विषयमा मंगलबार खानेपानी मन्त्रालयले विभिन्न पक्षसँग परामर्श गरेको थियो । ठेकेदार कम्पनीको बैंकहरुमा धरौटीबापत करिब ३ अर्ब रुपियाँ रहेको र कम्पनी सहमतिमा नआए सोही रकम जफत गरेर काम अघि बढाउने तयारीमा समेत सरकार रहेको खानेपानी मन्त्रालयको उच्च स्रोतले  बतायो । बाँकी कामका लागि आयोजनालाई अहिले करिब २५ करोड रुपियाँ भए पुग्ने मन्त्रालयको सो स्रोतले जनाएको छ ।

सरकारले मेलम्ची खानेपानी आयोजनासँग जोडिएका पछिल्ला गतिविधिलाई संयमतापूर्वक समाधान गर्न प्रयत्नशील रहेको जनाउँदै आयोजनाको निर्धारित कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको र ठेकेदार कम्पनी सीएमसीसँग पनि पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको जनाएको छ ।

आयोजनाको निर्माण कार्य सम्पन्न गर्न हालकै निर्माण व्यवसायीमार्फत गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्प राखेर परामर्श गरिरहेको उल्लेख गर्दै खानेपानी मन्त्रालयले हालको निर्माण व्यवसायी कम्पनीले काम नगर्ने परिस्थितिमा समेत कार्यतालिका प्रभावित नहुने गरी प्रक्रिया अगाडि बढाउन पनि तयार रहेको मन्त्रालयले जारी गरेको वक्तव्यमा जनाइएको छ ।

मन्त्रालयले पछिल्लो विकसित परिस्थितिबाट मेलम्ची आयोजनाको निर्माण कार्य प्रभावित नहुने व्यहोरा स्पष्ट गर्दै आयोजनाप्रति कहीँकतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नसमेत आग्रह गरेको छ । आयोजनाको निर्माण कार्य चलिरहेकै समयमा गएको आइतबार बेलुका ठेकेदार कम्पनी (सीएमसी) का प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेको लगायतको टोलीले अनुमति विना आयोजना स्थल छाडेका थिए ।

प्रोजेक्ट म्यानेजरसहितका कर्मचारी एकाएक नेपाल छोड्न खोजेको मेलम्ची खानेपानी आयोजना र खानेपानी मन्त्रालयले जानकारी पाएपछि अध्यागमनमा क्रिस्टियानोलगायतका प्रतिनिधिको अवस्था बुझ्न खानेपानी मन्त्रालयले गृह मन्त्रालयलाई अनुरोध गरेको वक्तव्यमा उल्लेख छ ।

मन्त्रालयको अनुरोधबमोजिम अध्यागमन विभागले उनीहरुलाई निगरानीमा राखिएको जनाउँदै मन्त्रालयले पछिल्लो विकसित घटनाक्रमपछि मन्त्रालय आयोजनाको काम प्रभावित नहुने गरी समस्या समाधान गर्न निरन्तर क्रियाशील रहेको जनाएको छ ।

आयोजनाबारे विसं २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । चिनियाँ कम्पनीसँग २०६९ असोज ९ गते निर्माण सम्झौता भङ्ग भएपछि नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गतको मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग २०७० असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको हो ।

मेलम्ची खानेपानी विकास समिति र सीएमसी कम्पनीबीच ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार ३४२ प्रारम्भिक निर्माण सम्झौता भएको थियो । सम्झौतामा सीएमसीले ३६ महिनाभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख रहेकोमा त्यो समय धेरै अघि नाघिसकेको छ ।

Leave a Reply