Friday, January 22, 2021
Home > mophosala > विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढाउन सकेनन् समितिले

विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढाउन सकेनन् समितिले

काठमाडाैं । सङ्घीय संसद्का विभिन्न समितिहरूमा विचाराधीन विधेयकको दफावार छलफलको प्रक्रिया अगाडि बढ्न सकेको छैन। छलफलका लागि अघिल्लो अधिवेशनले नै विधेयक समितिहरूमा पठाए पनि ती समितिले दफाबार छलफलको प्रक्रिया अगाडि बढाएका छैनन्। प्रतिनिधिसभाको अर्थ समितिमा सबैभन्दा बढी चारवटा विधेयक विचाराधीन छन्।

दोस्रो अधिवेशनमा प्रतिनिधिसभाबाट उत्पत्ति भएकामध्ये छवटा विधेयक अहिले पनि समितिमै विचाराधीन छन्। एउटा विधेयक प्रतिनिधिसभाले पारित गरेर राष्ट्रिय सभामा सन्देशसहित पठाएको छ। यस्तै, राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा सन्देशसहित आएका तीन विधेयक विचाराधीन छन्।

प्रतिनिधिसभाको अर्थ समितिमा चारवटा विधेयक विचाराधीन छन्। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा एक र शिक्षा तथा स्वास्थ्य समितिमा एक विधेयक विचाराधीन छन्। राष्ट्रिय सभातर्फ भने समितिमा कुनै पनि विधेयक विचाराधीन छैनन्। अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले केही व्यावहारिक कारणले विधेयक छलफलमा ढिलाइ भए पनि यसै साताबाट विधेयकमाथिको छलफल प्रारम्भ गर्ने जानकारी दिए।

सभापति दाहालले भने, ‘‘विभागीय मन्त्रीको व्यस्तताका कारण पनि छलफलमा केही ढिला भएको हो। विधेयकमा सरोकारीको चासो पनि छन्। विशेष गरी बीमा विधेयकमा बढी सरोकारवालाको चासो छ। हामी उहाँहरूसँग चाँडै बस्छौँ। यो महिनाभरिमा सबै विधेयक छलफल सक्नेगरी हामीले आन्तरिक कार्यतालिका तय गरेका छौँ।’’

साउन २७ गते दर्ता भएको भुक्तानी तथा फछ्र्यौट विधेयक पनि दफाबार छलफलका लागि अर्थ समितिमा छ। भदौ ८ गते नै विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइए पनि छलफल प्रारम्भ हुन सकेको छैन। विधेयकमा पाँचवटा संशोधनहरू छन्। विभिन्न दफाहरूमा गरी पाँच स्थानमै संशोधन दर्ता छन्।

यस्तै, अर्थ समितिमा नै विचाराधीन रहेको निवृत्तिभरण कोष सम्बन्धी विधेयक पनि भदौ ४ गते नै दफावार छलफलका लागि पठाइएको हो। उक्त विधेयकमा तीन जना सांसद्को १२ ठाउँमा संशोधन रहेको छ। कर्मचारीको योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था लागू गर्ने भन्दै अर्थ मन्त्रालयले साउन १८ गते विधेयक संसदमा दर्ता गरेको थियो।

Leave a Reply