Sunday, March 29, 2020

Home > special_four > एमालेको राष्ट्रवाद छेपारोले रंग फेरेजस्तो हो : नेता गुरुङ

एमालेको राष्ट्रवाद छेपारोले रंग फेरेजस्तो हो : नेता गुरुङ

दुराडाँडा, लमजुङ २६ कात्तिक । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नेकपा एमालेको राष्ट्रवाद छेपारोले रंग फेरेजस्तो भएको बताउनुभएको छ ।

मंसीर १० गते हुन लागेको प्रतिनिधी सभा तथा प्रदेश सभाको लागि च्यानपाटामा भएको चुनावी सभालाई सम्बोधन गर्दै नेता गुरुङले बाम एकताको नाममा विस २०४८ सालमा एक भएका कम्युनिष्टहरु पछि फेरी अलग भएर अहिले एक हुने कुरा गरीरहेका छन् यो सबै नौटंकी नाटकमात्र भएको बताउनुभयो ।

उहाँले एमाले सरकारमा हुँदा संविधान संशोधनका लागि तीन बुँदा भारतसँग राय लिने र पछि आएर भारतको विरोध गरेर राष्ट्रवादी बन्न खोजेको आरोप लगाउनुभयो । “नेपालले भारतसँग गरेको महाकाली सन्धीको एक वर्ष पहिले बेठिक भन्नु र पछि आएर ठिक भन्नु कस्तो चरित्र हो,”– उहाँले प्रश्न गर्नुभयो ।

नेता गुरुङले काँग्रेसले जम्मा पारेको रकम वृद्धलाई बाँडेर आफु राम्रो पार्टी बन्न खोजेको बताउनुभयो । “एमालेले राष्ट्रको पैसा बाँडेर पार्टीले पैसा बाँडेको जस्तो व्यवहार गरेको छ, पार्टीले पैसा बाँडेको भए धुम्बाराहीबाट बाँडेको भए हुन्थ्यो नी,”– उहाँले भन्नुभयो ।

एमालेका अध्यक्ष केपी ओलीले झापामा पुगेर काँग्रेसलाई बाह्रसिंगे जरायो भनेर गाली गरेकोप्रति लक्षित गर्दै नेता गुरुङले काँग्रेस जरायो भए एमाले स्याल भएको आरोप लगाउनुभयो । “ एमालेले सिसाको घरमा बसेर अर्कालाई हान्न खोजेको छ, अर्काले सिसाको घरमा हाने के हुन्छ, त्यो सोच्नुहोस्,”– नेता गुरुङले भन्नुभयो ।

उहाँले काँग्रेसले गरेको विकासलाई बामपन्थीहरुले भत्काउन खोजेको भन्दै मुलुकलाई सम्बृद्ध बनाउनका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो । नेता गुरुङले नेता बदलिए समाज बदलिन्छ भन्दै बामपन्थी नेताहरुलाई बदलिन आग्रह समेत गर्नुभयो ।

नेपाली काँग्रेस लमजुङ प्रतिनिधी सभाका उम्मेद्वार दिलबहादुर घर्तीले जिल्लाको समग्र विकास र लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई विजयी गराउनुपर्ने बताउनुभयो । “निर्वाचन अन्तरपार्टीको प्रतिस्पर्धा मात्र नभएर लोकतन्त्रवादी र साम्यवादी विचको लडाईँ हो,”– उहाँले भन्नुभयो ।

नेता घर्तीले लामो संघर्षपछि प्राप्त उपलब्धीसहितको लोकतान्त्रिक व्यवस्थाविरुद्ध साम्यववाद ल्याउने गरी बाम गठबन्धन लागेकाले लोकतन्त्रलाई बचाउन लोकतान्त्रिक शक्तिलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।

उहाँले लमजुङका जनताको विकास र समृद्धिका लागि कांग्रेसको जीत आवश्यक रहेको उल्लेख गर्नुभयो । नेता कोइरालाले विगतदेखि नै काँग्रेसले जित्दै आएको लमजुङ जिल्लालाई फेरी काँग्रेसको किल्ला बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

नेपाली काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टी संकटमा परेको भन्दै एक छाक खाएर भएपनि बामपन्थी दलहरुसँग लड्ने बेला आएको बताउनुभयो । उहाँले केही दिन अल्छि नगरी पार्टीको चुनाव प्रचारप्रसार कार्यमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

उहाँले जनतालाई अन्यौलमा राखेर राज्य सञ्चालन गर्न खोज्ने कम्युनिष्टहरु संसारमा विदा भएजस्तै नेपालमा पनि विदा हुने दावी गर्नुभयो ।

Leave a Reply