Friday, January 15, 2021
Home > mophosala > फेसबुक प्रति युवाको आकर्षण बढ्दै

फेसबुक प्रति युवाको आकर्षण बढ्दै

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाका ग्रामिण समुदायमा फेसबुक प्रति युवाहरुको आकर्षण बढ्दै गएको छ । जिल्लाका साविकका खीन, जुविथा, फोई, चिल्खाया लगायतका एफएम रेडियो समेत नसुनिने गाविसहरुमा सुचनाको माध्यमका रुपमा फेसबुकको प्रयोग हुन थालेपछि फेसबुक प्रति यहाँको ग्रामिण स्तरका युवाहरुको समेत आकर्षण बढेको हो ।
कालिकोट जिल्लाको साविकको खीन गाविस वडा नं. १ निवासी हिमाल बुढाले गाँउमा समाचार सुन्नका लागि एफएम रेडियो पनि नसुनिने हुँदा फेसबुकबाटै सूचनाहरु प्राप्त हुने भएकाले आफुले दैनिक एक घण्टा फेसबुक चलाउने बानी परेको बताउनुभयो । कर्णाली मावि खीनमा कक्षा ८ मा अध्ययनरत बुढाले गाउमा फेसबुक चलाउनु रहर नभई सूचना प्राप्त गर्ने सहज माध्यम भएकाले आफ्नो कक्षामा अध्ययनरत अधिकांश बिद्यार्थीहरुले फेसबुकको प्रयोग गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, मलाई फेसबुक खोल्न पनि आउदैन । सामान्य खराबी आएपछि गाविसका लेखापाल चुपबहादुर बुढासँग सहयोग माग्न आउछु । फेसबुक आईडी पनि उहाँलेनै खोलिदिनुभएको हो ।
साविकको खीन गाविसका लेखापाल चुपबहादुर बुढाले आफु कार्यालयमा भएको समयमा दैनिक ३–४ जना युवाहरु नयाँ फेसबुक आईडी खोलि माग्न तथा कुनै खराबी आए सहयोग माग्नका लागि आउने गरेको बताउनुभयो । उहाँले सबै भन्दा पहिले गाँउमा आफुले फेसबुकको प्रयोग गर्न सुरुवात गरेको दाबी गर्ने बुढाले आफ्नो फेसबुक आईडी पनि साथीबो सहयोगमा खोलेको बताउनुभयो । उहाँले भन्नुभयो, सुरु सुरुमा मैले फेसबुक चलाउन थालेपछि धेरै युवाहरु आफ्नो वरीपोरी बसेर हेथ्र्ये । त्यसपछि आफ्नो आईडी खोल्नका लागि अनुरोध गर्न थाले । मैले धेरैजसो युवाहरुको फेसबुक आईडी खोेलिदिएको छु । आजभोली त दैनिक ३–४ जना युवाहरु फेसबुक आईडी खोलि दिन आग्रह गर्दै गाविसको कार्यालयमा आउन थालेका छन् ।
जिल्लाका धेरैजसो ग्रामिण समुदायका युवाहरुले फेसबुकको प्रयोग गर्न थालेका छन् । सामान्य रुपमा नमस्ते तथा स्काई टेलिफोन सेवाको पहुँच भएका गाँउहरुमा समेत टेलिकमको ३–जी सेवा चल्ने भएकाले युवाहरुले फेसबुकको प्रयोग गर्न थालेका हुन् । टेलिकमको ३–जी सेवा अझै प्रभावकारी नभएको र तत्काल सुचना प्राप्त गर्न फेसबुक निकै प्रभावकारी भएकाले टेलिकमको ३–जी सेवाको गुणस्तर बेद्धि गर्नुपर्ने साविकको नानिकोट गाविस वडा नं. ७ निवासी सरोज बोगटीले बताउनुभयो ।

Leave a Reply