काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार बोलायको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला उपस्थित नभए पछि स्थगित भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारसम्म बैठक स्थगित गरिएको बताए।‘पुस ४ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने गरी स्थगित गरिएको छ,’ उनले सेतोपाटीसँग भने।
बरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेका छन्। सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म आफूहरू बैठकमा सहभागी नहुने अडानमा पौडेल छन्।
सभापति देउवा पक्षले समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने बताउँदै आएको छ। देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्नेमा सहमत देखिन्छ।
तर पौडेल पक्षले आउँदो मंसीरमै महाधिवेशन गर्नुपर्ने अडान राखेको छ भने अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने बताएको छ।
गत बिहीबार सभापति देउवाले २८ विभाग बढाएर ४१ पुर्याउनेसहित ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका छन्। त्यो दिनदेखि चार पटक पौडेलले बैठक बहिष्कार गरेपछि स्थगित हुँदै आएको छ। पौडेललाई सिटौलाले पनि साथ दिएपछि सहमतिअनुसार नै अघि बढ्ने भन्दै बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो।